श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

‘हामी रेल र पानीजहाजका कुरा गर्दैनौँ’ : पौडेल



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले आफूहरूले निर्वाचनमा ठूला आश्वासन नदेखाउने तर देखाएका आश्वासन पूरा गरेर छाड्ने बताएका छन् ।

पौडेलले पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले आफूहरूले रेल र पानीजहाजका कुरा नगर्ने तर, जे कुरा गरिन्छ त्यो पूरा गर्ने बताएका हुन् ।

तनहुँको बन्दीपुर गाउँपालिकास्थित झारगाउँमा आज आयोजित कोणसभामा बोल्दै वरिष्ठ नेता पौडेलले उम्मेदवार बन्न मात्र नभई काम गर्ने दृढ सङ्कल्प बोकेर आएकोसमेत बताए । ‘देशलाई अहिले सुशासन चाहिएको छ, सुशासन कायम गरेपछि विकास सम्भव छ। अहिलेको गठबन्धन नेपाललाई सुशासन दिनका लागि बनेको हो’, उनले भने ।

वरिष्ठ नेता पौडेलले आफूहरू जनतालाई ठूला सपना देखाउने पक्षमा नरहेको जिकिरसमेत गरे। ‘हामी रेल र पानीजहाजका कुरा गर्दैनौँ, जनताका आधारभूत आवश्यकताका कुरा गर्छौँ, जे कुरा गर्छौँ त्यो पूरा गर्छौँ’, पौडेलले भने ।

त्यसैगरी देशलाई प्रतिगमनमा लैजाने षड्यन्त्र भएपछि पाँच दलीय गठबन्धन बनेको चर्चा गर्दै पौडेलले जनताको हातमा आएको अधिकार बचाउन सबै एकै ठाउँमा उभिएको बताए । ‘संविधान बचाउने सवालमा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी को कुरा मिल्यो’, उनले भने ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ३ : ०९ बजे