जेष्ठ ५, २०८१ शनिबार Sat May 18 2024

युवा भन्छन्, ‘भोट हालेर काम खोज्दै विदेश जान नपरोस्’



नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीका सुशान्त पोख्रेल मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलोपटक मतदान गर्ने तयारीमा छन् ।

मतदानको दिन नजिक आउँदा उम्मेदवारका विभिन्न प्रतिबद्धता सुनेका देखेका उनलाई युवा विदेश पलायन रोक्ने योजना भइदिए हुन्थ्यो भन्ने लागेको छ । ‘दैनिक सयौँ युवा विदेश पलायन भइरहेका छन् युवालाई स्वदेशमै राख्ने खालको वातावरण बनिदिए हुने थियो’, उनले भने ।

‘म जस्तै धेरै युवा विदेश पलाएन भइरहेका छन्, स्वदेशमा रोजगारीको अवसर भए सायद विदेश जाने थिएनन् होला, राजनीतिक दलले युवालाई देशमै राख्ने वातावरण बनाए हुने थियो’, उनले थपे, ‘पहिलो पटक भोट दिने तयारीमा छु, आशा छ जित्नेले युवाका विषयमा केही सोचून्, भोट दिएपछि कामका लागि विदेश जान नपरोस् ।’

राजनीतिक दलहरूले विकासका योजनाअघि सारे रोजगारीका अवसर समेत सँगै आउने हुँदा यसतर्फ ध्यान दिनुपर्ने पहिलो पटक मत दिन तयार हुप्सेकोट–४, शङ्खदेवका युवा दिलीप चापागाईंको भनाइ छ । ‘रोजगारमूलक योजनाअघि सारी युवालाई उत्पादनमा प्रयोग गर्नसके देशको विकास पनि हुने थियो, युवा रोजगारमा जोडिने थिए’, उनले भने, ‘बजेटको उचित सदुपयोग हुने खालका काम भइदिए हुन्थ्यो भन्ने लाग्छ ।’

‘मेरो भोटले युवालाई उद्यमशीलतासँग जोड्ने सुनिश्चिता गरोस्, विदेशका खाडीमा पसिना बगाएका स्वदेशमै फर्किएर श्रम गर्ने वातावरण तयार होस् भन्ने लागेको छ’, पहिलो पटक मत दिन तयार कावासोती–६, कि मनिषा पौडेलले भनिन्, ‘स्वदेशमै अवसर छन्, देश विकासको गतिमा छ, सुशासन कायम छ भन्ने बनोस् ।’

राजनीतिक दलले युवाका लागि विस्तृत योजना ल्याउन भने नसकेको उनको धारणा छ । ‘रोजगार सिर्जना गर्ने, युवालाई उत्पादनमा जोड्ने भन्ने प्रतिबद्धता त देखिन्छ तर त्यसको लागि के गर्ने, कस्ता कार्यक्रमले युवालाई जोड्ने भन्ने कमै हुन्छन्, स्पष्ट योजना आवश्यक छ’, उनले भने ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १० : ५५ बजे