९ श्रावण २०८३, शनिबार Sun Jul 26 2026

पाकिस्तानी पूर्व प्रधानमन्त्री खान गोली लागी घाइते



काठमाडौँ।पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान सत्तारुढ गठबन्धनको विरोधमा निकालिएको लङ मार्चका क्रममा कन्टेनर नजिकै गोली चल्दा घाइते हुनुभएको छ । उहाँको खुट्टामा गोली लागेको बताइएको छ ।

हकीकी मार्च वजीराबाद प्रवेश गर्ने क्रममा यो घटना भएको हो । गोली चलेपछि मार्चका क्रममा भागदौड मच्चिएको थियो । कन्टेनरमा सवार पीटीआईका नेतासहित सबै आत्तिएका थिए ।

एआरवाई न्यूजका अनुसार गोली चल्दा प्रदर्शन जफराली खान चोक नजिकै पुगेको थियो । पूर्व प्रधानमन्त्री खानको लङ मार्च कन्टेनर नजिकै गोली चल्दा उहाँसहित अन्य पाँच जना घाइते भएको स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमले गोली काण्डमा पाँच जना घाइते भएको जानकारी दिएका छन् ।

गोली लागेर घाइते भएकाहरुलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको प्रहरीले जनाएको छ । एआरवाई न्यूजले स्रोतलाई उद्धृत गर्दै आक्रमणमा सम्लग्न आरोपित एक जनाको मृत्यु भएको छ भने एक जनालाई हिरासतमा लिइएको जनाएको छ । घाइते पूर्व प्रधानमन्त्रीसहित सबैको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ८ : ५४ बजे