मंसिर २२, २०८० शुक्रबार Fri Dec 8 2023

देशको समृद्धि र विकासमा जोड दिन आवश्यक छ : राजेन्द्र बजगाईं



काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार एवं नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले नेपालमा राजनीतिक दलप्रति वितृष्णा उठिरहेको भन्दै नेताहरुले देशको समृद्धि र विकासमा जोड दिन आवश्यक रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

दलका प्रतिनिधिले काम गर्न सकेनन् भन्ने जनआवाज उठिरहेको भन्दै नेता बजगाईंले अबको गठबन्धन सरकारले नै जनआवाजलाई चिर्ने काम गर्ने बताए । गठबन्धन आगामी दिनमा पनि लामो समयसम्म टिक्ने दाबी गर्दै उनले गठबन्धनका उम्मेदवारलाई धेरैभन्दा धेरै मत दिएर जिताउन आग्रह गरे ।

नेपालमा गठबन्धनका नेताहरुबाट नै विकासका कार्यक्रमले गति लिने दाबी गर्दै उनले गोरखाको विकासका लागि आफू सदैव प्रतिबद्ध रहेको बताए । नेता बजगाईंले गठबन्धनले नै संविधान र जनताको हकहितको सुरक्षा गर्ने बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ४ : ४७ बजे