श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

कृष्णपुर नगरपालिकालाई जग्गा नापजाँच रोक्न आयोगको निर्देशन



काठमाडौं । निर्वाचन आयोगले कञ्चनपुरको कृष्णपुर नगरपालिकालाई राष्ट्रिय भूमि आयोगमार्फत जग्गा वितरणको प्रयोजनार्थ भइरहेको जग्गा नापजाँच तत्काल रोक्न निर्देशन दिएको छ ।

उक्त कार्य निर्वाचन आचारसंहिता विपरित भएकोले तत्काल रोक्न निर्देशन दिइएको निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गर्दै बताएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै आयोगले यस्तो निर्देशन दिएको हो ।

जिल्ला निर्वाचन कार्यलयलाई बोधार्थ दिइएको पत्रमा आयोगले दुई दिनभित्र यसबारे निर्णय गरेर जानकारी गराउन पनि निर्देशन दिएको छ ।

‘आयोगबाट यसपूर्व नै प्रतिनिधि सभा सदस्य निर्वाचन र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न नभएसम्मका लागि आफू र आफ्नो मातहतबाट हुने र भइरहेका जग्गा वितरण सम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरु तत्काल स्थगित गर्न भूमि आयोग, ताहाचल, काठमाडौलाई निर्देशन दिने निर्णय’ भएको तथा त्यसबारे भूमि आयोगलाई पत्राचारसमेत भइसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  १ : ३४ बजे