कार्तिक ६, २०८१ मंगलबार Tue Oct 22 2024

म संसदमा नहुँदा चितवनको विकास निर्माणका काम ठप्प : विक्रम पाण्डे



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डेले गत पाँच वर्ष संसदमा आफू नहुँदा चितवनको विकास निर्माण ठप्प भएको बताएका छन् । चितवनको भरतपुर–१६को चौकी र वरमपुरमा आयोजित चुनावी अभियान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

आगामी मंसिर ४ मा हुनगइरहेको आमनिर्वाचनमा न्याय प्रेमी तथा विकासप्रेमी नेतृत्व छान्न मतदातासँग आग्रह गरेका छन् । उनले यो निर्वाचनमा आफू राजनीति गर्न सुविधा लिन भन्दा पनि विकास गर्न आएको बताए । यस ठाउँको विकास गर्नका लागि पनि आफूले संसदमा पुग्नपर्ने उनको दावी छ । ‘गएको पाँच वर्ष संसदमा मेरो उपस्थिति नहुँदा विकासको काम रोकियो,’ पूर्वमन्त्री पाण्डेले भने, ‘यसले चितवनवासी आम जनताले घाटा मात्रै व्यहोर्नु प¥यो ।

त्यसैले अबको नेतृत्वमा विकासवादी नेतृत्व छान्ने हो भने आगामी पाँच वर्ष पछुताउनु पर्दैन ।’ उनले राजनीतिक परिवर्तनको नाममा ठूला दलहरुले भएका उद्योग धन्दा तथा कलकारखाना कौडीको मोलमा विक्री गरी युवाहरूलाई विदेशिन बाध्य बनाएको र त्यहाँबाट आउने रेमिट्यान्समा तर मारेर बसेको बताएका छन् ।

उनले आउँदो चुनावमा विकासवादी दल र विकासप्रेमी नेतृत्व छान्न आग्रह गरेका छन् । उनले गठबन्धनको नाममा जनताको मताधिकारलाई अंकुश लगाएर स्वविवेकिय निर्णय गर्न रोकेर ठुला दलहरूले प्रजातन्त्रको आधार स्तम्भ माथिनै प्रहार गरेको बताएका छन् ।

उनले अब दल भन्दामाथि उठेर विकास र भावि सन्ततिको लागि राप्रपा लाई मतदान गर्न आग्रह गरेका छन् । आफूले जति समस्या बुझ्न सक्छु त्यति बुझ्ने अरु कुनै उमेदवार यस क्षेत्रमा नरहेको समेत उनले दावी गर्दै आफू योजनासहित जनताको घरदैलोमा आएको प्रष्ट पारेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १ : ४२ बजे