बैशाख २६, २०८१ बुधबार Wed May 8 2024

‘बरु नष्ट हुने तर भ्रष्ट नहुन’ प्रतिवद्धतासहित राप्रपाको घोषणापत्र सार्वजनिक



काठमाडौं । आसन्न आमनिर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राप्रपाले प्रदेश संरचना खारेजीसहित राजसंस्थालाई शिरमा राखेर आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । राप्रपाले आफ्नो घोषणापत्रमा ‘दीर्घकालीन सोच, दीर्घकालीन राष्ट्रिय लक्ष्य, दीर्घकालीन मार्गचित्र’ प्रमुख नारा बनाएको छ ।

राप्रपाले हालको शासकीय स्वरूप प्रदेशको खारेजी गर्दै केन्द्र र स्थानीय तह बलियो बनाउने प्रस्ताव गरेको हो । त्यस्तै राप्रपाले देशको अभिभावकको रूपमा राष्ट्रपतिको सट्टा राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद् र हिन्दु राष्ट्रलाई चुनावको प्रमुख एजेण्डा बनाएको छ ।

त्यसैगरी दीर्घकालीन राष्ट्रिय रणनीतिमा दिगो आर्थिक वृद्धि, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा, सुशासनतर्फ बरु नष्ट हुने तर भ्रष्ट नहुने राप्रपाको प्रतिबद्धता छ । त्यस्तै उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछि जति पनि माथिल्लो पदमा पुगेका जति पनि नेता र कर्मचारीहरु छन् तिनको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था।

राजनीतिक दलरहित संवैधानिक परिषद् निर्माण, नेपालको शान्ति क्षेत्र प्रस्तावलाई पुनर्जीवित गर्ने, असंलग्न र पञ्चशीलमा आधारित सन्तुलित परराष्ट्र नीतिको अवलम्बन, नेपालको भू–भाग कसैका विरुद्ध प्रयोग गर्न नदिनेलगायतका विशेषता राप्रपाको घोषणापत्रमा समेटिएका छन् ।

त्यस्तै प्रवासी नेपालीलाई मताधिकारको व्यवस्था, शिक्षा, स्वास्थ्य र न्याय निःशुल्क र समान, एक परिवार एक रोजगार अवधारणा, प्रभावकारी कार्यान्वयन लगायतका एजेण्डा राप्रपाको घोषणापत्रमा उल्लेख छ । राप्रपाले पृथ्वीनारायण शाहलाई आदर्श व्यक्तित्वका रूपमा लिँदै पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवस र राष्ट्रिय पर्वका रूपमा मनाइने व्यवस्थाका साथै उक्त दिन सार्वजनिक बिदा दिने प्रस्ताव घोषणापत्रमार्फत उल्लेख गरेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  १ : ५६ बजे