चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

माओवादी प्रदेश १ को प्रादेशिक प्रतिबद्धतापत्र सार्वजनिक



विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ ले आसन्न निर्वाचनका लागि प्रादेशिक प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

माओवादीले संघीयता कार्यान्वयन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका विषय प्रतिबद्धतापत्रमा समेटेको छ । ‘उत्पादनमुखी विकास र समुन्नत समाज समाजवादको आधार, सुदृढ संघीयतासहित समृद्ध प्रदेशका लागि माओवादी सरकार’ उल्लेख छ ।

५ वर्षभित्र प्रदेश राजधानीको बाँकी भौतिक पूर्वाधार सबै सम्पन्न गर्ने उक्त पार्टीको प्रतिबद्धता छ । संघीयता कार्यान्वयन र प्रदेशलाई बलियो बनाउन आवश्यक संरचना, कानून र नीति निर्माण गरी कार्यान्वयन गर्ने, प्रदेश प्रहरी गठन गरी शान्ति सुरक्षाको सुदृढ व्यवस्थापन गर्ने विषय माओवादीले प्राथमिकतामा राखेको छ ।

स्थानीय तहसँगको सहकार्यमा पूर्वाधार निर्माण र संघीयता कार्यान्वयनको कामलाई अगाडि बढाउने र आम प्रदेशवासीको भावना र अपनत्व हुने पहिचान झल्कने गरी प्रदेशको नामकरण गर्ने घोषणापत्रमा उल्लेख छ । यसैगरी ‘एक घर, एक रोजगारी’ कार्यक्रमार्फत प्रदेशबासीलाई उत्पादनसँग जोडेर गरिबी निवारण गर्ने, ‘एक घर, एक धारा’ को अवधारणा कार्यान्वयन गर्ने, उज्यालो प्रदेश घोषणा गर्ने, पर्यटन विश्वविद्यालय बनाउने माओवादीले जनाएको छ ।

१४ वटै जिल्लालाई विशेष उत्पादन क्षेत्रमा वर्गीकरण गर्ने, नगदेबाली, मौसमी बाली, फलफूललगायतको उत्पादन वृद्धि गर्न पकेट क्षेत्र, ब्लक र जोनको रूपमा विकास गर्ने साथै किसानलाई पेन्सन दिने योजना पनि समेटिएका छन् ।

प्रदेशको आर्थिक विकास, स्वास्थ्य पूर्वाधार, सडक पुल, खानेपानी सिँचाइ र ऊर्जा, सुशासन, सुशासन, सामाजिक सुरक्षा, पर्यटन तथा संस्कृति, खेलकुद तथा रोजगारीका विविध विषयलाई समेटिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  १० : ५१ बजे