बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

गुजरातमा पुल भत्किदा मृत्यु हुनेको संख्या १३२ पुग्यो



काठमाडौँ । भारतको गुजरातको मोरबीमा रहेको एउटा पुल भत्किँदा मृत्यु हुनेको संख्या १३२ पुगेको छ । १७७ जनाको उद्दार भएको छ ।

आइतबार साँझ छठको समयमा मानिसहरुको ठूलो समूह जम्मा भइरहेका बेला पुल भत्किएको थियो । ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको एक सातापछि भत्किएको थियो । क्षमताभन्दा बढी मानिस रहेका कारण पुल भत्किएको प्रारम्भिक अनुमान गरिएको छ । अहमदाबादबाट २०० किलोमिटर टाढा रहेको उक्त झोलुङ्गे पुल आइतबार साँझ पौने ७ बजे छठ पूजामा करिब ५०० मानिसहरु भेला भएका बेला भत्किएको थियो ।

पुल भत्किएपछि माचु नदीमा केही मानिस हराइरहेका थिए भने फसेका केही मानिसको उद्दार गरिएको थियो ।मृत्यु हुनेमा धेरै महिला र बालबालिका छन् । १७० जनालाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ ।

करिब १५० वर्ष पुरानो र लोकप्रिय पर्यटकीय स्थल मोरबीको केबुल ब्रिज सात महिनादेखि मर्मतसम्भारका लागि बन्द गरिएको थियो । यो अक्टोबर २६ मा पुनः खोलिएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  १० : ३५ बजे