चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

आगामी निर्वाचनमा राप्रपाले समानुपातिकमा ३० लाख मत ल्याउने अध्यक्ष राजेन्द्र लिङदेनको दावी



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा राप्रपाले समानुपातिक तर्फ ३० लाख भोट ल्याउने दावी गरेका छन् । आइतबार काठमाडौं क्षेत्र नम्बर २ मा राप्रपाले तिहार, नेपाल संवत र छट पर्वका अवसरमा गरेको शुभकामना आदन प्रदान कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । कार्यक्रममा राप्रपाले अघिल्लो निर्वाचनका बेला भन्दा राम्रो प्रगति गर्ने दावी गरे ।

उनले यो पटकको चुनावमा राप्रपा उच्च मनोबलका साथ अघि बढेको उल्लेख गर्दै राष्ट्रप्रेमी जनताले साथ दिने उल्लेख गरे ।
कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले भने–‘आगामी मंसिर ४ गते देशमा सबैभन्दा ठूला महायज्ञ हुँदै छ । त्यो महायज्ञमा हामीले सही पार्टी, सही एजेन्डा र सही सिद्धान्त बोकेका सही नेतृत्व छान्न आवश्यक छ । त्यो मौका गुमाइयो भने यो महायज्ञ असफल हुने छ,’ ।

उनले राप्रपा नेपाली संस्कार, संस्कृति, हिन्दू धर्म र परम्परालाई जोगाउन २०६२÷६३ को आन्दोलनदेखि लगेको बताए । मुलुकमा राजासहितको प्रजातन्त्रलाई स्थापित गर्दै संघीयता खारेजीको लागि लडिरहेको सुनाए ।

अध्यक्ष लिङदेनले राप्रपाले प्रदेशको विरोध गरिरहँदा कतिपयले प्रदेशको विरोध गर्ने अनि त्यसैमा उम्मेदवारी दिने भन्दै प्रश्न उठाएकोप्रति भने–‘हामीले प्रदेशमा उम्मेदवारी दिएनौँ भने जसले प्रदेश चाहिन्छ भनेर भागबन्डा गरी खाइरहेका छन् तिनीहरु फेरि त्यहाँ प्रतिनिधित्व गरेर आउँछन्, हामीलाई छिर्न दिँदैनन् ।

त्यसैले हामीले पनि त्यसमा भाग लिएर विजयी भइ संसदमा पुगेर प्रदेशको खारेजीको पहल गर्नुपर्छ भन्ने लागेर प्रदेशमा उम्मेदवारी दिएका हौं ।’ उनले मुलुक अहिले गलत नेतृत्वका कारण ठीक ढंगले अगाडि नबढेको प्रति लक्षित गर्दै सही नेतृत्व र सिद्धान्त लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी अघि बढेको उल्लेख गर्दै जनतालाई मत दिन आग्रह गरे ।

उनले काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवार कुन्तीदेवी पोखरेललाई विजयी गरेर पठाउन आग्रह गरे । उनले विपक्षी दलहरुले सानो पार्टी भनेर हेला गर्नेगरे पनि यसपटकको निर्वाचनमा जनताले राप्रपालाई अगाडि बढाउने बताए ।

उनले काठमाडौं महानगरपालिकाको चुनावको उदाहरण दिँदै सुरुमा बालेन शाहलाई विपक्षीले खिसिटिउरी गर्नेगरेपनि भोटको बाकस खोल्ने बेला जनताले जवाफ दिएको बताए । आगामी निर्वाचनमा पनि राप्रपालाई जनताले अमूल्य मत दिएर विपक्षी दलहरुलाई जवाफ दिने उल्लेख गरे ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १ : ४२ बजे