कार्तिक ६, २०८१ मंगलबार Tue Oct 22 2024

डडेल्धुरामा कांग्रेसको वडा समितिले गर्‍यो चुनाव बहिष्कार



काठमाडौं । डडेल्धुरामा नेपाली कांग्रेसको वडा समितिले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ।

भागेश्वर गाउँपालिका(५ को समितिले चुनाव बहिष्कार गर्ने निर्णय गरेको हो । कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतले गरिएको वडा सभापति जंगबहादुर थापामगरले जानकारी दिए ।

‘मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा वडा कमिटीले समग्र वडाको विकासका लागि राखेका मागहरू विश्वासिलो रूपमा पूरा हुने आधार नदेखिएको अवस्थामा चुनाव बहिष्कार गर्ने र कुनै पनि उमेदवारलाई भोट नदिने निर्णय बहुमतबाट पारित गरिएको जानकारी गराइन्छ, साथै यदि माग सम्बोधनका लागि वार्ता गर्ने अवस्था आएमा जिल्लास्तरका कुनै पनि कांग्रेसका नेताहरूसँग वार्ता नगरी स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवासँग मात्रै वार्ता गर्ने कुरा जानकारी गराइन्छ ।’ थापामगरले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

वडा कमिटीले माग सम्बोधनका सम्बन्धमा जिल्लास्तरका नेताहरुसँग नभएर सोझै प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासँग मात्र कुरा गर्ने कुरासमेत उल्लेख गरिएको छ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ११ : ०२ बजे