श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

प्रधानमन्त्री देउवाद्वारा सत्तागठबन्धनका उम्मेदवारलाई भोट हाल्न आह्वान



विराटनगर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको बलिदानबाट प्राप्त संविधान रक्षाका निम्ति गठबन्धन बनेको बताएका छन् । देउवाले विराटनगरमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै सबै वर्ग र क्षेत्रको अधिकार सुनिश्चित गर्ने समावेशी संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको प्रस्ट्याए ।

प्रधानमन्त्री देउवाले आशन्न निर्वाचनपछि गठबन्धन दलको सरकार बन्ने विश्वास व्यक्त गर्दै भनेका छन्, “विकास र परिवर्तनका निम्ति यो गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ ।” रुख, कलम र गोलाकार भित्रको हँसिया हथौडा चिन्हमा भोट हाल्न कार्यकर्तालाई नहिचकिचाउन सुझाउँदै उनले गठबन्धनका उम्मेदवारलाई अत्यधिक भोट हालेर जिताउन अपिल गरे ।

नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले निर्वाचन सामान्य प्रक्रिया भए पनि यो निर्वाचन खास उद्देश्यका लागि भएको बताए । विशेष परिस्थितिमा आन्दोलनको बीचबाट जन्मेको गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गर्ने भन्दै अध्यक्ष दाहालले बृहत् शान्ति सम्झौताबाट नै मुलुकमा युगान्तकारी परिवर्तन आएको र यही परिवर्तनलाई निमोठ्न खोज्ने प्रवृतिका विरुद्धमा गठबन्धन बनेको धारणा राखे ।

शान्ति सम्झौताको निरन्तरताकै रुपमा गठबन्धन अगाडि बढेको बताउँदै अध्यक्ष दाहालले आशन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन कार्यकर्ता एवं नेतालाई आग्रह गरेका छन् । एकले अर्कालाई खुशीसाथ मत खसाल्न आग्रह गर्दै उनले भनेका छन्, “समृद्धि र सुशासनका लागि पनि गठबन्धनले जित्नुपर्छ ।”

नेकपा (एकीकृत समाजवादी पार्टी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गलत मानिसको हातबाट नेतृत्व खोस्न गठबन्धन बनेको बताए । उनले भने, “गठबन्धनको एकता र ऐक्यबद्धता नै हाम्रो सङ्कल्प हो ।” राजनीति सही मार्गमा गए मात्र समाजका समस्या समाधान हुने विश्वास व्यक्त गर्दै उनले भने, “गठबन्धन नबनेको भए एकलौटी सरकार चलाउने आधारलाई भत्काउन सकिने अवस्था थिएन ।”

स्वाभिमानका पाठ कार्यकर्ता र जनतालाई सिकाएर राम्रो उद्देश्य तथा सपनालाई साकार पार्न गबन्धनका उम्मेदवार जित्नुपर्ने बताउँदै अध्यक्ष नेपालले लोकतन्त्र र संविधानलाई धराप पर्न नदिन गठबन्धन निर्वाचित हुनुपर्ने बताए । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन गठबन्धन निर्माण भएको बताए ।

उनले नेपाली जनतालाई बलियो बनाउन र अर्थतन्त्रलाई सुदृढ तुल्याउन गठबन्धनका उम्मेदवार जित्नुपर्ने विचार व्यक्त गरे । कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले “संविधानको सही कार्यान्वयका निम्ति राजनीतिक दलबीच एकता र सहकार्य अपरिहार्य छ” भने ।

कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संविधानलाई सही मार्गमा लैजान, असल शासन, लोकतन्त्र एवं समुन्नत समाज निर्माण गर्न गठबन्धन आवश्यक रहेको चर्चा गरे । कांग्रेस प्रदेश नं १ समितिका सभापति उद्धव थापाको सभापतित्वमा भएको सो कार्यक्रममा एकीकृत समाजवादी पार्टी प्रदेश नं १ समितिका अध्यक्ष बलदेव चौधरीले पनि गठबन्धनको महत्वमाथि प्रकाश पारेका थिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ४ : ३४ बजे