श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

यिनीहरुले सत्ताका लागि देश बेच्छन् : अध्यक्ष ओली



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धन सत्ता स्वार्थका लागि देश पनि बेच्न पछि नपर्ने आरोप लगाएका छन् । अध्यक्ष ओलीले शनिबार नेकपा एमाले ललितपुरद्वारा तिहार तथा नेपाल संवतको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सत्ताका लागि अंश अंश गरेर देश बेच्न गठबन्धन तयार रहेको आरोप लगाएका हुन् ।

उक्त कार्यक्रममा ‘सत्ता स्वार्थका लागि यिनीहरू देशपनि बेच्न तयार हुन्छन् । यिनीहरूको कुरा किन गर्ने ?, ‘सिङ्गै देश ढ्वाक्कै लगेर अण्डा, टमाटर सिमी बेचेजस्तो तराजुमा लगेर बेच्न नसक्लान् तर, अंश अंश गरेर देश बेच्छन्,’–ओलीले भने ।
हिस्सा, अंश, हित र स्वाभिमान अंश अंश बेच्दा एक दिन देश नै बेचिसक्ने अध्यक्ष ओलीले बताए ।

उनले भने,‘अलिकति हिस्सा बेच्छन्, अलिकति अंश बेच्छन्, अलिकति हित बेच्छन्, अलिकति तल पार्छन् । स्वाधीनता बेच्छन्, स्वाभिमान बेच्छन् । सार्वभौमसत्ता बेच्छन् । अंश अंश गरेर बेच्छन् ।’ त्यस्तै ओलीले कुनै व्यक्तिलाई प्रधानमन्त्री तोक्न घण्टा तोकेर दिइएको परमादेश ऐतिहासिक गल्ती भएको र अब त्यस्तो गल्ती दोहोरिन नहुनेसमेत बताएका छन् ।

कानून हातमा लिने काममा न्यायाधीश र वकिलहरू नै लागेको बताउँदै ओलीले भने, राज्य शक्तिको आडमा सरकारले प्रधान न्यायाधीशलाई घरमा थुनेर आफन्तलाई घरबाट बाहिर निस्कँदा गिरफ्तार गर्ने कामसम्म पछिनपरेको आरोप लगाए ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ४ : ३१ बजे