श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

विकास र परिवर्तनको लागि जनमत परिवर्तन हुनुपर्छ : पोख्रेल



काठमाडौं । आगामी मंसिर ४ को आमनिर्वाचनका लागि काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी कुन्तीदेवी पोख्रेलले आफ्नो चुनावी तयारीलाई तीब्रता दिएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेकी पोख्रेलले मतदाता समक्ष आफ्नो उपस्थिति बढाएकी हुन् ।

यसरी भेटघाट र कुराकानी गर्दा आफू राजनीतिमा आउने कारण र विकासका योजनाहरु बताउने गरेकी छन् । उक्त योजनाहरु सञ्चारमाध्यम, सामाजिक सञ्जाल, फोन र भेटघाटमार्फत जनता समक्ष प्रस्तुत गर्ने गरेको पोख्रेलको भनाइ छ । यसरी विभिन्न माध्यमबाट कुराकानी गर्दा जनताले खुशी व्यक्त गर्दै शुभकामना दिने गरेको पोख्रेल स्मरण गर्छिन् । ‘तपाईंहरु मलाई एक दिन सहयोग गर्नुहोस्, म पाँच वर्ष तपाईंहरुको काम गर्छु’, पोख्रेलले प्रतिवद्धता प्रकट गरिन् ।

उनी थप्छिन्, ‘म राजनीतिमा सांसद बनेर कमाउन आएकी होइन, क्षेत्रको विकास र समृद्धिको लागि केही गरौं भन्ने भावनाले आएकी हुँ ।’ राजनीतिमा कमाउन र सुविधा लिन होइन, काम गरेर सेवा दिन आएको उनले स्पष्ट पारिन् । यसरी भेटघाट र सम्पर्कमा जाँदा जनतामा स्थानीय र नयाँ उम्मेदवारप्रति आकर्षण भएको पोख्रेलको अनभब छ ।

हरेक चुनावमा एउटै अनुहार दोहोरिरहने र जितिसकेपछि चुनावी क्षेत्रमा फर्केर नजाने पुराना नेताको प्रवृत्तिका कारण पनि नयाँ अनुहारप्रति जनआकर्षण बढेको हुनसक्ने पोख्रेलको बुझाइ छ ।

पोख्रेलले टुरिष्ट नेताका कारण काठमाडौं क्षेत्र २ सधैं ओझेलमा परेका विकास र परिवर्तनका लागि यसपटक आफ्नो मत परिवर्तन गर्न जनतालाई आग्रह गरेकी छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ७ : ०५ बजे