बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

यो निर्वाचनमा को हँसिया हथौडा, को रुख र को कलम भन्ने नै छैन : देउवा



काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावी गठबन्धनमा को रूख, को हँसिया हथौडा भन्ने नै नभएको बताएका छन् । ललितपुरमा गठबन्धन दलका कार्यकर्ताको संयुक्त भेलालाई मंगलवार सम्बोधन गर्दै देउवाले भने, ‘अब को हँसिया हथौडा, को रुख, को कलम भन्ने नै छैन । जहाँ जो छ त्यसैलाई भोट हाल्ने हो ।’

कार्यक्रममा देउवाभन्दा अघि बोलेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि एक अर्काको चिह्नमा मत हाल्न नहिच्किचाउन नेता कार्यकर्ताहरूलाई आग्रह गरेका थिए ।

कार्यक्रममा अन्तिममा बोलेका देउवाले भने, ‘अब को हँसिया हथौडा, को रुख, को कलम भन्ने नै छैन । कलम भएको ठाउँमा कलमलाई नै भोट हाल्ने, हँसिया हथौडा भएको ठाउँमा हँसिया हथौडामा नै भोट हाल्ने र रूख भएको ठाउँमा रुखलाई नै भोट हाल्ने । यत्ति भए पुगिहाल्यो नि ।’

त्यसअघि, देउवाले नेपाल अहिले पनि ट्रान्जिसनमा रहेको बताएका थिए । ‘नेपाल राष्ट्र यति बेला ट्रान्जिसनमा छ । लोकतन्त्रलाई स्थायी बनाउनुछ’, उनले भने ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा संसद् विघटन गरेको भन्दै देउवाले विरोध गरेका थिए । ‘ओलीजीले दुई पटक संसद भंग गरे । संविधान बनाउँदा कुनै पनि हालतमा संविधान भंग गर्न पाइँदैन भन्ने व्यवस्था गरिएको थियो । राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद् भंग गरे । साँझ गरेको भए हुन्थ्यो । बिहान गरेको भए पनि हुन्थ्यो । भर्खर चुनावको बेला भएको छ । यहाँले २ वर्ष अघि नै संसद भंग गरे’, देउवाले भने ।

अब नेपाल स्थायी शान्तिको बाटोमा अघि बढेको पनि उनले बताए । नेपाललाई असफल राज्य हुनबाट गठबन्धनले जोगाएको पनि उनले बताए । ‘नेपाल असफल राज्य हुनबाट जोगिएको छ । नेपाल स्थायी शान्तितिर अगाडि बढेको छ । आर्थिक अवस्था सुधार हुन थालेको छ । नेपालको समावेशी प्रजातन्त्र अध्ययन गर्न विदेशीहरू आउन थालेका छन्’, देउवाले भने ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ३ : ५५ बजे