चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

मकवानपुरमा आइपुग्यो मतपत्र



हेटौंडा। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिक निर्वाचन प्रमाणीतर्फको मतपत्र हेटौंडामा आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ।

मकवानपुरको क्षेत्र नम्बर(१ मा प्रतिनिधि सभातर्फ १ लाख ६६ हजार र प्रदेश सभातर्फ १ लाख ६८ हजार प्रति मतपत्र ल्याइएको मुख्य निर्वाचन अधिृकत ऋषिराम निरौलाले जानकारी दिए।

त्यस्तै २ नम्बर क्षेत्रको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधि सभातर्फ १ लाख ६६ हजार र प्रदेश सभातर्फ १ लाख ६९ हजार प्रति मतपत्र आइपुगेको क्षेत्र नम्वर २ का निर्वाचन अधिकृत मुकुन्दहरी पौडेलले बताए।

मकवानपुरमा कूल ३ लाख ७३७ जना मतदाता रहेका छन् भने जिल्लाको क्षेत्र नं। १ र २ मा गरी कूल ३६४ वटा मतदान केन्द्र तोकिएको मुख्य निर्वाचन अधिकृत निरौलाले बताए।

निर्वाचनलाई स्वच्छ र निश्पक्ष ढंगबाट सम्पन्न गर्नका लागि मतदान केन्द्रहरूको संवेदनशीलतालाई ध्यानमा राखी आवश्यक सुरक्षा प्रबन्ध मिलाउने तयारी स्वरूप अवलोकन कार्य भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ११ : ४२ बजे