बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

स्वास्थ्य विमाका लागि गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदान



काठमाडौं । स्वास्थ्य बिमाका बारेमा नागरिकलाई अझैपनि राम्रो जानकारी छैन । बिमाबारे ज्ञान नहुँदा नागरिकले राज्यले दिएको सेवा लिनबाट अझै बञ्चित हुनु परेको छ । नेपाल सरकारले ५ जना परिवारलाई ३५ सय रुपैयाँका दरले वार्षिक १ लाख बराबरको स्वास्थ्य बिमा गराउँदै आएको छ ।

वर्षमा ३५ सय तिर्नको लागि राज्यले नागरिकलाई संम्झाउन नसक्दा स्वास्थ्य उपचारमा लाखौ खर्च गर्न बाध्य भएका छन् । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले सबै परिवारलाई ५० प्रतिशतमा स्वास्थ्य बिमा गराउने भएको छ । नागरिकसँग प्रत्यक्ष सरकार छ भन्ने प्रत्याभूति दिलाउन गाउँपालिकाले ५० प्रतिशत स्वास्थ्य बिमामा सहयोग गर्ने भएको गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले बताए ।

गाउँपालिकाका १८ हजार ३ सय ९४ जनसंख्या ३, हजार ९ सय २२ घरधुरीलाई प्रत्यक्ष सेवा दिने लक्ष्यका साथ स्वास्थ्य बिमाको लागि गाउँपालिकाले ५० प्रतिशत सहयोग गर्ने तयारी गरेको जनाएको छ । यो कार्यक्रमसँगै गाउँपालिकामा रहेका ५ जनाको परिवारले १७ सय ५० रुपैयाँमा स्वास्थ्य बिमा गर्न पाउने भएका छन् ।

स्वास्थ्य बिमाबारे गाउँगाउँमा महत्व र आवश्यकताको महशसुस दिलाउने पालिकाले जनाएको छ । स्वास्थ्य बिमामा गाउँपालिकाले सहयोग गर्ने भएपछि यहाँका नागरिकले राहत पाउने भएका छन् । यस्तै गाउँपालिकाले सुत्केरी पोषण भत्ता कार्यक्रमअन्तरगत मासिक १ हजार रुपैयाँ दिने तयारी गरेको छ ।

गाउँपालिका क्षेत्रमा रहेका सुत्केरीलाई ८ पटक गर्भ जाँच गरी सकेका सुत्केरीलाई एकमुष्ठ ९ हजार प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ३ : ४६ बजे