बैशाख ६, २०८१ बिहिबार Fri Apr 19 2024

रुकुम पश्चिम प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार तारक केसीले पाए ‘सूर्यमुखी फूल’ चुनाव चिन्ह



काठमाडौं । रुकुम पश्चिम प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार तारक केसीले ‘सूर्यमुखी’ चुनाव चिन्ह पाएका छन् । रुकुम पश्चिममा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका धेरैले उम्मेदवारी फिर्ता गरेका छन् ।

नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका मानबहादुर नेपालीले गठबन्धनका आधिकारिक उम्मेदवार जनार्दन शर्मालाई ्समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् ।

त्यसैगरी प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका अन्यले पनि फिर्ता लिएका छन् । माओवादी प्रभाव रहेको रुकुम पश्चिममा प्रदेश क र ख मा काँग्रेस माओवादीले एकएक सिट बाँडफाँड गर्ने र प्रतिनिधि सभामा शर्मालाई सघाउने भनिएको थियो ।

त्यहिँ आधारमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको लागि काँग्रेस माओवादी दुवैले आफ्नो उम्मेदवारी दर्ता गरेका थिए । नेपाली काँग्रेसका कार्यकर्तालाई अलमल पार्दै नेतृत्वले घर न घाटको पारेपछि काँग्रेस कार्यकर्ताहरु रुष्ट भएका छन् ।

कार्यकर्ताले जिल्लादेखि केन्द्रसम्म काँग्रेस नेतृत्वलाई आक्रोश पोखेपछि रुकुम काँग्रेसले बुधबार क्षमा याचना गर्दै विज्ञप्तिसमेत जारी गरेको छ ।

नेपाली काँग्रेसबाट प्रदेश सभा क्षेत्र नम्वर ख का उम्मेदवार प्रेम प्रकाश ओलीको उम्मेदवारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ ।

यता बुधबार प्रदेश निर्वाचन क्षेत्र क बाट काँग्रेसका प्रदेश उम्मेदवार कृष्णबहादुर रोकायले माओवादीलाई समर्थन गर्दै फिर्ता लिएका छन् । यही अभावलाई पुर्ति गर्दै नेपाली काँग्रेस रुकुमका युवा नेता तथा नेविसंघका पूर्व केन्द्रीय सदस्य तारक केसीले प्रतिनिधि सभा सदस्यका लागि आफ्नो उम्मेदवारीलाई निरन्तरता दिएका हुन् ।

काँग्रेस पार्टीले कारबाहीको धम्की दिँदापनि रुकुमका नागरिकको भावनालाई आत्मसात गर्दै केसीले केसीले आफ्नो उम्मेदवारी कायम राखेका हुन् । नेपाली काँग्रेस रुकुम पश्चिमको कडा आलोचना गर्दै युवाहरु केसीको समर्थनमा माहोल बनाउन अभियान थालेका छन् ।

नेतृत्वको अनावश्यक हस्ताक्षेप, हरेक क्षेत्रमा बढ्दै गएको विकृति, राजनीतिमाथिको व्यापार आदि कुराले आजित हुदै स्वतन्त्र ढंगले समाज र देशको विकास, सुशासनको पक्षमा काम गर्ने उदेश्य आफूले बिद्रोह गरेको केसीले बताएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका केसीले आफूले आफूलाई निर्वाचन आयोगले सूर्यमुखी फूल चुनाव चिन्ह दिएकाले सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ६ : ३६ बजे