श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

जनता न्यायाधीश हुन्, यसपालि हामीलाई न्याय गर्छन् : वर्मा लामा



वर्मा लामा, दोलखा प्रदेश ‘ख’ उम्मेदवार तथा सभापति नेपाली कांग्रेस

समाजसेवाबाट कांग्रेस राजनीतिमा आएका स्थापित नेता हुन् वर्मा लामा । दोलखाका स्थायीवासिन्दा लामा नेपाली कांग्रेस जिल्ला सभापति र ‘ख’बाट प्रदेश सदस्य उम्मेदवार पनि हुन् । समाजसेवासँगै राजनीतिमा पोख्त उनी वरिष्ठ समाजसेवी र कुशल नेताका रुपमा परिचित छन् । जनताप्रति सधैं दत्तचित्त लामा हक्की स्वभावका नेता र स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । उनै लामासँग आमनिर्वाचनसँग केन्द्रित रहेर पालिका समयका लागि कमलबहादुर बोहराले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं दोलखाको प्रदेश ‘ख’ बाट चुनाव लड्दै हुनुहुन्छ, कार्यकर्ता र जनताबाट कस्तो आश्वासन पाउनुभएको छ त ?
दोलखामा टिकटको विषयलाई लिएर खासै ठूलो असन्तुष्टि छैन । केही साथीहरुमा सामान्य चित्त दुखाइहरु हुन सक्छन् । त्यस सन्दर्भमा आन्तरिक रुपमा बसेर मिलाउने तयारीमा हामीहरु जुटिरहेका छौं । त्यसकारण निर्वाचन जित्न त्यति अप्ठ्यारो पर्ने स्थिति छैन । हाम्रो पक्षमा जनलहर उर्लिएर आइराखेको छ । जनताहरुले हामीलाई घर–घरमा आइदिए हुन्थ्यो भनेर फोन, म्यासेज गरिराखेको अवस्था छ । यसपालि दोलखाली जनताले हिजोका दिनमा ३० वर्ष हाराहारी एकछत्र शासन चलाउँदा पनि केही गर्न नसक्ने शासकहरुलाई पुनः मतदान गर्ने कुरै छैन । यसपालि दोलखामा नेतृत्व परिवर्तनका लागि जनताहरु आतुर छन् । त्यसैले हाम्रो जित्न सुनिश्चित छ । त्यो स्थानीय तहको निर्वाचनले पनि देखाइसकेको अवस्था हो ।

झन्डै ३० वर्ष हाराहारी एमालेले शासन गरेको दोलखामा कांग्रेसको बर्चश्व स्थापित गर्न तपाईंको उम्मेदवारी हो ?
लामो समयदेखि एमालेको दबदबाह रहेको जिल्ला दोलखा हो । यहाँ उहाँहरुले झन्डै ३० वर्ष माननीय, मन्त्री भएर एकछत्र शासन गर्नुभयो । त्यसैगरी उहाँहरुले गाउँविकास, वडा कार्यालयदेखि जिल्ला विकासमा पनि हालीमुहाली गर्नुभयो । तर, ३० वर्षसम्म त्यसरी एकलौटी ढंगले शासन गर्दा विकास निर्माणका काममा नयाँ आयाम ल्याएको देखिएन । उहाँहरु खाली आफ्ना कार्यकर्ता, आसेपासे र आफू कसरी कामउने धन्दामा मात्रै लागेको देखियो । त्यो कुरा यहाँका सर्वसाधारणमाझ जगजाहेर छ ।

तर, नेपाली कांग्रेसले आफू चुनाव हार्दा पनि विभिन्न समाजसेवामार्फत विकास निर्माणका काम होस्, जनतालाई सुखदुःखमा साथ दिने कुरामा होस्, अथवा जनतालाई आइपरेका मुद्दामामिला मिउने काम होस् सधैं हातेमालो गरेर अगाडि बढिरह्यो । त्यसैगरी भ्रष्टाचार, अनियमितता, अन्याय, अत्याचार, कुशासनविरुद्ध निरन्तर हामीले आवाज बुलन्द गरिरह्यौं । यसअघि उहाँहरुको दुई तिहाई हाराहारीको राष्ट्रिय सरकार चलाउन नसकेर फेल हुनु । त्यसपछि प्रदेश सरकारहरु फेल हुनु ।

अहिले आएर स्थानीय सरकारहरुबाट उहाँहरु समाप्त भएर जानुको अर्थ भनेको जनताले उहाँहरुको क्रियाकलाप बुझिसकेको अवस्था हो । अब एमालेलाई भोट दिएर केही हुँदैन भन्ने जनतामा भइसकेको छ । जतिपटक भोट दिएर सत्तामा पु-याउँदा पनि जसले केही गर्दै सक्दैन भने फेरि त्यसलाई मतदान गरेर के अर्थ छ । त्यसकारण पनि यसपालि दोलखाका जनताले मलगायत गठबन्धनका उम्मेदवारलाई मतदान गरेर विजयी बनाउनुहुन्छ भन्नेमा म ढुक्क छु ।

सत्तागठबन्धन कत्तिको अनुसासित भएर चुनावमा जाला जस्तो लाग्छ ?
नेपालमा चुनावमा गठबन्धन गर्ने अभ्यास पनि पटक–पटक भइसकेको छ । यसको अभ्यास स्थानीय निर्वाचनमा निकै उपलब्धीमुलक ढंगल सफल भयो । स्थानीय निर्वाचनमै अभ्यास भइसकेका पनि जनतालाई बुझाउन धेरै सहज भएको छ । त्यसकारण गठबन्धनमा कुनै समस्या छैन । बरु स्थानीय निकायमा गाउँपालिका, नगरपालिका, महानगरपालिका र वडाहरुमा धेरै झन्झटहरु थिए । त्यसमा अपेक्षाकृत सफल प्राप्त भएको छ । आज त केन्द्रले तोकेका उम्मेदवारहरु हुनुहुन्छ । त्यसमा पनि दोलखामा हाम्रो गठबन्धनले उठाएका उम्मेदवारहरु राजनीतिमा अत्यन्त रुझान् भएका, राजनीतिलाई नै आफ्नो जीवनपद्धति बनाएका र समाजसेवी भावनाले ओतप्रोत नेताहरुलाई अगाडि सारेको अवस्था छ ।

उता यसपालि एमालेले खडा गरेको उम्मेदवार कमजोर र फिक्का देखिएको अवस्था छ । त्यसकारण पनि हामीलाई यहाँ चुनाव जित्न सहज हो, त्यसमाथि गठबन्धन छ । हिजोका दिनमा नेपाली कांग्रेस एक्लै लड्दा दुई/चार हजार भोटले हारजित हुन्थ्यो । योभन्दा अघिल्लोपटक एमाले र माओवादी गठबन्धन हुँदा नेपाली कांग्रेस दोस्रो शक्ति हो । यहाँ हामी दुई/चार हजार भोटले मात्रै पछिपरेको बेलामा आज हामीसँग माओवादीको १० औं हजार भोट मिसिएको छ ।

त्यसमा हामीसँग समाजवादी पनि छ । जनताहरु पनि परिवर्तनका खातिर हामीतिर आकर्षित छन् । त्यसकारण हामीले चुनाव हार्ने त कुरै छैन । कतिबढी मतान्तरले प्रतिपक्षी एमालेलाई पराजित गर्न सक्छौं भन्ने मात्रै हाम्रो प्रयास हो । त्यसकारण सत्ता चलाउनै नसक्ने जनताले भोट हालेर के काम । दुई तिहाई हाराहारी भोट आउँदा उनीहरुले सत्ता चलाउन नसकेर अहिले कांग्रेसले चलाइरहनुपरेको छ । अनि यसपालि हामीलाई नै मतदान किन नगर्ने त । त्यसकारण हामी जनमतको हकदार हौं । जनता त्यसका न्यायाधीश हुन् उनीहरुले हामीलाई न्याय गर्छन् भन्नेमा हामी विश्वस्त छौं ।

दोलखामा तपाईंले आँकलन गरेजस्तो भोट गठबन्धनसँग छैन भनिन्छ नि ?
पहिलाको तुलनामा नेपाली कांग्रेसको भोट धेरै बढेको छ । स्थानीय निर्वाचनलाई लिने हो भने हामीसँग ३५ हजार भोट छ । त्यसपछि माओवादीसँग २० हजार भोट छ । त्यसमाथि समाजवादी पनि हामीसँग थपिएपछि ६० हजारमाथि भोट हामीसँग हुन्छ । उहाँहरुसँग जम्माजम्मी ३०/३५ हजार भोट छ । अनि चुनाव कसले जित्छ, त्यो हामीले भनिरहनु पर्दैन जनताले नै आँकलन गरिरहेका छन् । यसमा कसैले दुविदा मानिरहनुपर्छ जस्तो मलाई लाग्दैन । अर्को गठबन्धनपनि अत्यन्तै कसिलो, अनुसासित र परिमार्जित ढंगले अगाडि बढिराखेको अवस्था छ । त्यसैले दोलखामा आगामी मंसिर ४ मा हुनगइरहेको आमनिर्वाचनमा गठबन्धनलाई चुनाव जित्न कुनै समस्या छैन भन्नेमा विश्वस्त छु ।

एमाले अध्यक्ष केपी ओलीले कांग्रेस चुनावबाट डराएर गठबन्धनमा गएको हो, हामीले एक्लै बहुमत ल्याउँछौं भनेका छन् नि?
केपी ओलीजी दिउँसै सपना देख्ने मान्छे हो । अरुले निदाएको बेलामा सपना देख्छन्, उहाँ ननिँदाउँदै सपना देख्नुहुन्छ । नेपाल जस्तो देश जहाँ सन्द्रै छैन, त्यहाँ पानी जहाज चलाउँछु भन्ने मान्छेको कुरै नगरौं । अहिले उहाँ नेपालको राजनीतिक इतिहासबाटै समाप्त भइन्छ कि भन्ने त्रासले बरबराउन थाल्नुभएको छ ।

दोलखाली जनताले वर्मा लामालाई नै भोट हाल्नुपर्ने कारण के ?
वर्मा लामा व्यक्ति चुनाव लडेको होइन । नेपाली कांग्रेसको उम्मेदवार भएर चुनाव लडिरहेको छु । कांग्रेसको लोकतन्त्रप्रतिको महत्व, आजको राष्ट्रिय आवश्यकता मुलुकमा त्यत्तिकै छ । त्यसमा हामीले हिजो दुई तिहाइ हाराहारीको प्रतिगमनकारीहरुको सरकार ढालेर देशलाई भष्टाचार, अराजकता र अन्याय, अत्याचारबाट जोगाउने काम कांग्रेसले गरेका छौं । त्यो पार्टीका कार्यकर्ता हामी हौं । त्यसले पनि दोलाखाको विकास र समृद्धिको लागि मैले आफू पदमा नहुँदा पनि समाजसेवामार्फत धेरै काम गरेको छु । त्यसैगरी शिक्षा, स्वास्थ्य, सिंचाई, सडक, पर्यटन, कृषि, पशुपालनलगायत विभिन्न क्षेत्रमा आफ्नो बलबुताले भ्याएर मैले काम गरेको छु । त्यसरी निरन्तर रुपमा समाजसेवामार्फत राजनीतिमा लागेको मान्छे हुँ म ।

युवाशक्तिलाई स्वरोजगारमुलक बनाउन कस्तो योजना बनाउनुभएको छ ?
दोलखा धार्मिक पर्यटनको दृष्टिले भरिपूर्ण जिल्ला हो । यहाँ कालिन्चोक भगवती, भीमेश्वर महादेवलगायत थुप्रै धार्मिक पर्यटनको सम्भावना भएका तीर्थस्थलहरु छन् । अर्को दोलखा जलविद्युत् उत्पादनको हबजस्तै जिल्ला हो । कृषि उत्पादनमा त्यत्तिकै सम्भावना भएको जिल्ला हो । त्यसको लागि कृषि बजार व्यवस्थापनको आवश्यकता छ । बजारसम्म उत्पादित कृषिजन्य खाद्यान्न ल्याउन पक्की सडकको आवश्यकता छ ।

अर्को युवाहरुलाई सीपयुक्त व्यवसायिक तालमको लागि प्राविधिक कलेजको आवश्यकता छ । पशुपालनको पनि त्यत्तिकै सम्भावना बोकेको जिल्ला हो दोलखा । त्यसतर्फ युवाशक्तिलाई आकर्षित गर्न आवश्यक छ । उत्पादित कृषिजन्य पद्धार्थलाई राम्रो बजार व्यवस्था गर्ने हो भने कृषकको आयआर्जन बृद्धि हुन्छ । रोजगारीको खोजीमा विदेसिने युवाहरुले स्वदेशमै रोजगारी पाउँछन् । त्यतातिर ध्यान दिन जरुरी देख्छु । यदि यहाँका नागरिकले भोट दिएर मलाई विजयी बनाएको खण्डमा मेरो बलबुताले भ्याएसम्म दोलखाको विकास र समृद्धिमा लागिपर्ने छु ।

तपाईंलाई आफ्नो चुनावी क्षेत्रबाट डराएर अर्को क्षेत्रमा आएको आरोप छ नि ?
यससन्दर्भमा भन्नुपर्दा मलाई प्रदेश ‘क’बाट आएर ‘ख’मा लड्यो भन्ने केही अफवाहरु फैलाइएको छ । खासगरी खोलापारीबाट वारि आयो भन्ने आरोप हाम्रा साथीहरुले लगाउने गरेका छन् । दोलखाको सदरमुकाम प्रदेश ‘ख’मा पर्छ । म यहाँ बसेकै ३० वर्ष भइसक्यो । अर्को कुरा म खोला वारिकै मान्छे हो । मैले पारिगएर राजनीतिक सेवा गरेका कारण त्यसो भनिएको होला । फेरि म अहिले दोलखा कांग्रेसको जिल्ला सभापति हुँ । ठूला नेताहरु चाहीं काठमाडौंको झापा, झापाको काठमाडौं । अथावा पूर्वको पश्चिम, पश्चिमको पूर्व गएर लड्दा हुने । हामीले चाहीं एउटा खोलावारि पारिएको निहुँमा राजनीतिक सिमाना लगाउनु उचित हो जस्तो लाग्दैन । त्यसकारण मैले सेवा गर्ने क्षेत्र यहीं हो । म यहींको स्थानीय वासिन्दा हुँ । यहाँका जनतालाई अप्ठ्यारो परेको बेला सेवा गर्न तत्पर छु । यहींका जनताको सुखदुःखमा साथ दिने छु । त्यसैले यो या त्यो निहुँमा असफल पार्टीका मान्छेलाई भोट खेर नफालौ भन्न चाहन्छु ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  २ : ५२ बजे