मंसिर १८, २०८० सोमबार Mon Dec 4 2023

आम निर्वाचन २०७९ : उम्मेदवारको नामावली प्रकाशन आज गरिँदै



काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कार्यतालिका अनुसार आज मंगलबार उम्मेदवारको नामावली प्रकाशन गरिँदै छ । आज साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

बुधबार १० देखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ । बुधबार नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यातालिका छ  ।

उम्मेदवारका विरुद्ध आयोगले सोमबार १० देखि ३ बजेसम्म उजुरी दिन सकिने समय छुट्याएको थियो । मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने आयोगले व्यवस्था मिलाएको थियो ।
आयोगमा परेको उजुरीमाथि सोमबार ३ बजेदेखि मंगलबार ५ बजेसम्म उजुरीको जाँचबुझ हुने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका छन् ।

उनका अनुसार आयोगमा कूल ५,९६८ उमेदवारी दर्ता भएको छ । प्रतिनिधिसभाको १६५ वटा निर्वाचन क्षेत्रका लागि २,५१३ जनाको उम्मेदवारी दर्ता भएको सहायक प्रवक्ता अर्यालले जानकारी दिए । प्रदेशसभातर्फ ३,४५५ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । उम्मेदवारी दिनेको विवरण अद्यावधिक भइरहेको आयोगले जनाएको छ  ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ९ : ४४ बजे