बैशाख ७, २०८१ शुक्रबार Sat Apr 20 2024

बलात्कार आरोपी सन्दीपलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौँ ।बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

लामिछानेलाई म्याद थपका लागि प्रहरीले आज बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

अब लामिछानेलाई जिल्ला सरकारी वकिलको उपस्थितिमा प्रहरीले बयान लिने छ । लामिछानेलाई गत बिहीबार (असोज २० गते) प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउपछि आरोपितलाई अदालतबाट थुनामा राख्ने अनुमति लिएपछि बयान प्रक्रिया अघि बढाउनुपर्नेमा दसैं बिदा परेकाले अदालत पनि बन्द भएकाले आज मात्र अदालतमा उपस्थित गराइएको थियो ।

लामिछानेमाथि गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ । उनीविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ अनुसार अनुसन्धान भइरहेको छ । उनीविरुद्धको कसुर पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

गत भदौ २१ मा एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

लामिछानेलाई गत भदौ ५ गते ती १७ वर्षीया नाबालिले बलात्कार गरेको आरोप लागाउकी थिइन् ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  २ : १८ बजे