श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधि सभाका समानुपातिक सूची सार्वजनिक



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभाका समानुपातिक उम्मदवारको बन्दसूची सार्वजनिक गरेको छ । जसमा ६० जना रहेका छन् । सूचीमा नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय कोषाध्यक्ष कोमल ज्ञवाली सुवेदी एक नम्बरमा छन् । त्यस्तै पूर्व सांसद हिमान्चल भट्टराई दुइ नम्वरमा तथा काँग्रेस सांसद पार्वती डिसी चौधरी तेस्रो नम्बरमा रहेकी छिन् ।

पछिल्लो समय पार्वती डिसी चौधरी एमाले छिर्ने हल्ला पनि चलेको थियो । पार्टीको केन्द्रीय सदस्यमा हारेकी उनी पछि केन्द्रीय सदस्यमा मनोनयनमा नपरेपछि पार्टीसँग असन्तुष्ट थिइन् । कैलाली–३ क बाट प्रदेश सभामा प्रत्यक्षतर्फ उम्मेदवार हुने चर्चामा रहेकी सामाजिक अभियन्ता इन्दु चौधरी थारू कोटाबाट प्रतिनिधि सभातर्फ पहिलो नम्बरमा परेकी छिन् ।

कैलाली १ मा प्रदेश सभाको प्रत्यक्षतर्फ आकांक्षी ललित ताम्राकार, स्थानीय चुनावमा टीकापुर नगरपालिकामा पराजित उल्कादेवी विक पनि समानुपातिक सूचीमा परेका छन् । ६० जना सार्वजनिक उम्मेदवारमा खसआर्यबाट १९, आदिवासी जनजातिबाट १७, मधेसी ९, दलित ८, थारू ४ र मुस्लिम ३ जना रहेका छन् । थारू कोटाबाट ४ जना मात्रै देखिए पनि आदिवासी जनजाति तथा मधेसी कोटामा पनि थारू उम्मेदवार राखिएकाले समग्रमा थारु उम्मेदवार १७ जना रहेका हुन् ।

सबैभन्दा बढी कैलालीबाट उम्मेदवार छन् । त्यस्तै, कञ्चनपुर, दाङ, बाँके, बर्दिया, कपिलबस्तु, बारा, झापा, सप्तरी, रौतहट, सुनसरी तराई क्षेत्रका तथा डोटी, कालीकोट, मनाङ, सिन्धुली, रामेछाप, दोलखा, काठमाडौं, भक्तपुर, ललितपुर, पहाड क्षेत्रबाट पनि उम्मेदवार उठाइएको छ। सुदूरपश्चिम प्रदेशमा २१ जनाको नामावली सार्वजनिक गरिएकोमा नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डित एक नम्बरमा तथा टीका थापा दोस्रो नम्बरमा छिन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ४ : ३५ बजे