चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

सर्लाही कांग्रेसबाट नागेन्द्रले टिकट पाएपछि अमरेशको टाउको दुखाई



काठमाडौं । सर्लाहीमा नेपाली कांग्रेसभित्र विवाद बढेको छ । पार्टीको केन्द्रीय निर्णयको पक्ष–विपक्षमा नेताहरू उभिएका छन् । जिल्लाको निर्वाचन क्षेत्र नम्बर–४ मा विवादले उग्र रूप लिएको छ ।

सर्लाही–४ बाट पार्टी महामन्त्री गगन थापालाई उमेदवार बनाउने चर्चा थियो । तर, गगनले त्यहाँ जान अस्वीकार गरेपछि पार्टीले नागेन्द्र रायलाई टिकट दिएको छ । गगन सर्लाही–४ बाट पार्टीभित्र एकल सिफारिस भएका थिए । जिल्लाबाट सिफारिसै नभएका नागेन्द्र रायलाई पार्टीले टिकट दिने निर्णय गरेको छ ।

रायले २ बजेपछि उमेदवारी दर्ता गर्ने बताएका छन् । उनी निवर्तमान कांग्रेस जिल्ला सभापति तथा समानुपातिक सांसद हुन् । राय संस्थापननिकट नेता पनि हुन् । रायले टिकट पाएपछि अर्का नेता अमरेशकुमार सिंह असन्तुष्ट बनेका छन् । सिंह २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट सांसद बनेका थिए । तर, उनको नाम सिफारिस समेत गरिएको थिएन ।

प्रदेश समितिमा निवेदन दिएर सिफारिसमा परे पनि उनले टिकट पाएनन् । टिकट खोसिएसँगै सिंह पार्टीबाट विद्रोह गरेर स्वतन्त्र उमेदवारी दिने तयारीमा जुटेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १ : २१ बजे