कार्तिक ६, २०८१ मंगलबार Tue Oct 22 2024

अमरेशकुमार सिंहको क्षेत्रमा गगनको इन्ट्री



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यसअघिको निर्वाचन क्षेत्र काठमाडौं ४ छाड्ने भएका छन् । उनी आसन्न निर्वाचनमा प्रतिनिधि सभातर्फ सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने भएका छन् ।

थापा यसअघि काठमाडौं ४ बाट निर्वाचित हुँदै आएका थिए । गठबन्धनले गगनको निर्वाचन क्षेत्र काठमाडौं ४ नेपाली कांग्रेसकै भागमा पारेको थियो । तर, उनी आफ्नो पुरानो निर्वाचन क्षेत्र छाडेर सर्लाही ४ जाने स्रोतले जनाएको छ । उक्त क्षेत्रबाट पनि थापाको नाम प्रतिनिधि सभातर्फ उम्मेदवारका रुपमा एकल सिफारिस भएर आएको थियो ।

सर्लाही ४ का कांग्रेस कार्यकर्ताहरूको आग्रहमा आफू उक्त क्षेत्रबाटै चुनाव लड्ने मनस्थितिमा पुगेका थापाले निकटस्थहरूलाई बताएको स्रोतको दाबी छ । कांग्रेसनिकट एक नेताका अनुसार तराई मधेशमा गुमेको पार्टीको शाख फर्काउनका लागि गगनले उक्त निर्णय गरेका हुन् ।

‘सर्लाहीका पार्टी नेता तथा कार्यकर्ताहरू घरमै आएर आग्रह गरेकाले साथै तराई मधेशमा पार्टीको गुमेको शाख फिर्ता गर्नका लागि महामन्त्रीज्युले सर्लाहीबाट उम्मेदवार बन्ने निर्णयमा पुग्नुभएको हो’, ती नेताले भने, ‘महामन्त्री नै जानुभएपछि मधेशमा कांग्रेसका अवस्था अहिलेको भन्दा निकै सवल हुनेछ भन्नेमा हामी सबै आशावादी छौँ ।’

गगनले छाडेको काठमाडौं ४ मा कांग्रेसबाट डा। स्वर्णीम वाग्लेले उम्मेदवार बन्ने चाहना राखेको पनि स्रोतको भनाइ छ । यद्यपि, बागमती प्रदेशको बारेमा छलफल नभएकाले यसबारे टुंगो नलागेको गगननिकट स्रोतको भनाइ छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ८ : ३७ बजे