श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

नगरपालिकाद्वारा बुटवलका सडकमा खुला दूध बेच्न रोक



रूपन्देही । बुटवल उपमहानगरपालिकाले खुला रूपमा सडक किनारमा दूध बिक्री वितरणमा रोक लगाएको छ।

उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालको अध्यक्षतामा बसेको दुग्ध व्यवसायीसहितको बैठकले दूधको कारोबार गर्ने व्यवसायी र किसानलाई अनिवार्यरूपमा दर्ता गर्न र खुलारूपमा सडक किनारमा दूधको बिक्री वितरण रोक्न आग्रह गर्ने निर्णय गरेको हो।

अर्यालले दुग्धजन्य पदार्थलाई व्यवस्थित तथा स्वस्थकर बनाउनका लागि दूध र दूग्धजन्य पदार्थको गुणस्तर परीक्षणका लागि ल्याब किड्स मेसिनसहितको ल्याब स्थापना गर्ने निर्णय बैठकले गरेको बताइन्।

यस्तै बैठकले दूग्धजन्य पदार्थलाई गुणस्तरीय र स्वस्थकर बनाउन दूध विक्रेता, किसानलगायत दूधको कारोबारमा संलग्न डेरी व्यवसायीले पालना गर्नुपर्ने आचारसंहिता तयार गरी कार्यान्वयनमा सहयोग र समन्वय गर्न कार्यदल गठन गरेको छ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ८ : ५४ बजे