बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

शेखर कोइराला समूहले दियो, कांग्रेस पार्टी कार्यालयमा धर्ना



काठमाडौँ । नेपाली कांग्रेस शेखर कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूची एक पक्षीय रुपमा निर्वाचन आयोगमा पेश गरेको भन्दै आन्दोलित नेपाली कांग्रेसका डा. शेखर कोइराला पक्षधर बुधबार केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको हो ।

कोइराला समूहले टिकट वितरण न्यायोचित हुनुपर्ने माग राखेको छ। समानुपातिक बन्दसूची सार्वजनिक भएपछि यो समूहले आन्दोलित छ।

डा। कोइराला नेतृत्वको उक्त समूहले पार्टी कार्यालय सानेपामा मध्यान्ह १२ बजेदेखि धर्ना दिएको हो। कांग्रेसबाट समानुपातिकको बन्द सूचीमा अधिकांश संस्थापन पक्षका नेताहरु समेटिएपछि इतर पक्ष आन्दोलित छ।

धर्नामा कोइराला समूहका दोस्रो तहका नेताहरु सहभागी छन्। धर्नामा संस्थापनविरुद्ध आक्रोशपूर्ण अभिव्यक्ति दिँदै आएका गुरुराज घिमिरेदेखि जगदिश्वरनरसिंह केसीसमेत सहभागी छन्।

इतर समूहका नेताहरुको नाम थोरै मात्रै समावेश गरिएपछि आफूहरुकम्तीमा ४० प्रतिशत हिस्सा पाउनुपर्ने उनीहरुको अडान छ।

इतर पक्षले संघदेखि प्रदेशसम्मको सूची सच्याउनुपर्ने अडान राखेको छ। त्यही क्रममा इतर समूह सानेपा पुगेर धर्नामा बसेको हो।

यही सोमबार बसेको शेखर कोइराला नेतृत्वको समूहको बैठकले बुधबार मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको थियो।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  २ : ४२ बजे