चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

पोखराको कास्कीकोट दरबारमा नवदुर्गा उत्सव सुरु



कास्की । पोखरा महानगरपालिका वडा नम्बर २४ मा रहेको कास्कीकोट दरबारमा नवदुर्गा उत्सव थालनी भएको छ । प्रत्येक वर्षको आश्विन शुक्ल पक्षका अवसरमा हुने विशेष पूजाआजा परापूर्वकालीन चलन हो । यसलाई नवदुर्गा उत्सव का रूपमा मनाउने चलन छ ।

घटस्थापनादेखि दशमीसम्म तान्त्रिक र वैदिक रूपले गुप्तकालिका मन्दिरमा पुजारीहरूले पूजा गर्ने प्रचलन छ । वडा दसैंको अवसरमा लोपोन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरिने गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुरप्रसाद त्रिपाठीले जनाएका छन् । उत्सवमा दसैंको बेला बजाइने नगरा, सत्रौं शताब्दीका ढाल, तरबार तथा तोपहरूको पनि प्रदर्शन गरिने उनको भनाइ छ ।

‘संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटनको प्रवद्र्धनमा सहयोग गरौँ’ भन्ने नारासहित दसैँ उत्सव मनाउन लागिएको गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिले जनाएको छ । कास्कीकोट दरबारमा घटस्थापनाको दिन विधिवत् मन्दिरमा प्रवेश गरिन्छ । सप्तमीको दिन पोखराको रामघाटबाट ल्याइएको फूलपत्र कुँवर जातिको सरुङ खेलसँगै मन्दिरमा भित्र्याउने प्रचलन छ ।

अष्टमीका दिन राति कालरात्रिको पूजा, नवमीका दिन पञ्चबलि र दशमीको दिन गुप्तकालिका मन्दिरमा टीका लगाउने र विधिवत् रूपमा फूल बास्पानीमा लगेर विसर्जन गर्ने प्रचलन रहेको जनाइएको छ । दसैँका दश दिनसम्म दैनिक विभिन्न देवीको पूजा हुने गुप्तकालीको दर्शन गर्नाले मनको इच्छा पूरा हुने जनविश्वास छ । यस समयमा पोखरासहित विभिन्न स्थानबाट यहाँ भाकलसहित पूजाआजा एवं पञ्चबलिका लागि दर्शनार्थी आउने गर्दछन् ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ११ : ५५ बजे