श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

नेपाल–श्रीलंका चेम्बरको १६ औं वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । नेपाल–श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले पर्यटन व्यवसायी विजय श्रेष्ठलाई निर्वाचित गरेको हो । आइतबार राजधानीमा सम्पन्न १६ औं साधारण सभाले श्रेष्ठको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिचि निर्विरोध चयन गरेको छ ।

त्यसैगरी संघको २६ सदस्यीय कार्यसमितिको तीन उपाध्यक्ष रहेका छन् । तीनमा राजेशवीर तुलाधर, रामराज आचार्य र मृगेन्द्रमेहर श्रेष्ठ चयन भएका छन् । त्यस्तै महासचिवमा डा. हरिश जोशी, सचिवमा प्रकाश ओली र विधाता श्रेष्ठ छनोट भएका छन् भने कोषाध्यक्षमा दिपक महर्जन निर्वाचित भएको संघले जनाएको छ ।

त्यसैगरी संघको कार्यसमिति सदस्यहरुमा अनिल अग्रवाल, अशोक केसी, विद्यासागर ताम्राकार, नरेन्द्रबल्लभ पन्त, सुनिल भुसाल, मोहन कटुवाल, राजेश शाक्य, प्रसन्न अधिकारी, धिरज कार्की, प्रिया रञ्जन (पप्पु), पोमनारायण श्रेष्ठ, मनिष राजभण्डारी र सुधीर प्रधानांग, सुनिल वंशल, सुशील श्रेष्ठ, रज्जु तन्डुकार, समीर श्रेष्ठ चिर्वाचित भएका छन् ।

नवनिर्वाचित संघको पहिलो वैठकले विभिन्न विषयगत समिति गठनसमेत गरिसकेको छ । संघको उद्योग तथा लगानी समितिको संयोजकमा नरेन्द्रबल्लभ पन्त, वाणिज्य समितिमा सुनील भुसाल, पर्यटन समितिमा प्रसन्न अधिकारी, पूर्वाधार समितिमा मोहन कटुवाल रहेका छन् । त्यस्तै सामाजिक सुरक्षा शिक्षा र स्वास्थ्य समिति संयोजकमा राजेश शाक्य रहेका छन् ।
त्यसैगरी नवनिर्वाचित अध्यक्ष श्रेष्ठले विषयगत समितिको गठनसँगै संस्थाले द्विपक्षीय आर्थिक तथा सामाजिक विकासका क्षेत्रका काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले श्रीलंका र नेपालबीच पुरानो सम्बन्ध रहेकाले आर्थिक विकासका लागि सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । त्यस्तै विभिन्न क्षेत्रीय च्याप्टर गठन गर्ने संघको योजना रहेको पनि वचनवद्धता गरेका छन् । उनले दुवै मुलुकमा रहेका दूतावासमार्फत आर्थिक कुटनीतिका क्षेत्रमा काम गर्ने जनाएका छन् ।

कार्यक्रममा नेपालका लागि श्रीलंकाका राजदूत हिमाली सुभाषिनी अरुनातिलकाले श्रीलंकाको आर्थिक स्थिति विस्तारै उकालो लागिरहेको जनाउँदै द्विपक्षीय सम्बन्धलाई थप गाढा बनाउने धारणा राखिन् । संघका तत्कालीन अध्यक्ष रमेश महर्जनको कार्यकाललाई स्मरण गर्दै राजदूत अरुनातिलकाले उक्त समयमा नेपाल र श्रीलंकाका व्यवसायीबीच एमओयू भएको र आगामी दिन त्यसलाई निरन्तरता दिनुपर्ने जनाइन् ।

संघका मानार्थ सदस्य तथा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले श्रीलंकासँग धार्मिक पर्यटनमा नेपालले सहकार्य गर्नसक्ने उल्लेख गर्दै चिया, जेम्स एन्ड ज्वेलरी, गार्मेन्टलगायतका क्षेत्रमा पनि पुँजी र प्रविधिमा दुई मुलुक मिलेर अघि बढ्नुपर्ने सुझाएका छन् ।

नेपाल र श्रीलंका दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का सदस्य राष्ट्र भएकाले आर्थिक विकासमा दुवैको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ११ : ५३ बजे