बैशाख ४, २०८१ मंगलबार Wed Apr 17 2024

चन्द्रागिरि नगरपालिकाले डेङ्गीको निःशुल्क परीक्षण गर्ने



काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आफ्ना नगरवासीका लागि प्राथमिक अस्पताल थानकोटबाट डेङ्गी रोगको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइको छ। चनपा–४ स्थित उक्त अस्पतालबाट अहिले दैनिक सो रोगको निःशुल्क परीक्षण तथा उपचारसमेत भइरहेको छ।

नगरप्रमुख घनश्याम गिरीले नगरवासीको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई नगरवासीलाई डेङ्गीको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको जानकारी दिए। नगर क्षेत्रभित्र पनि डेङ्गी रोगको सङ्क्रमणको जोखिम बढ्दो क्रममा देखिएकाले स्वास्थ्य सतर्कता अपनाउन म नगरवासीलाई हार्दिक अनुरोध गर्दछु, उनले भने।

अस्पतालका प्रमुख डा हेमनाथ आचार्यले डेङ्गी रोगको निःशुल्क परीक्षण तथा उपचार भइराखेको जानकारी दिए। उनअनुसार अस्पतालमा हालसम्म जटिल प्रकारका डेङ्गु रोगका बिरामी भर्ना भएका छैनन्। पन्ध्र शय्याको अस्पतालले डेङ्गी रोग परीक्षणका लागि आवश्यक कीटको व्यवस्था नगरपालिकामार्फत मिलाएको छ।

लामखुट्टेको टोकाइबाट डेङ्गी हुने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक रहेको उनको भनाइ छ। डेङ्गुको भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले यो रोग सर्दछ। यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ र बर्सातको मौसम सुरु भएपछि डेङ्गी ज्वरोको समस्या बढ्न थाल्दछ।

एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो। यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ। यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गीको लक्षण रहेको डा आचार्यले बताए।

डेङ्गीबाट बच्न मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ। पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्‍याउनु यसबाट बच्ने प्रमुख उपाय हुन्।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १२ : २३ बजे