काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिकाले विवाह नगरी स्नातक गर्ने छात्रालाई एक लाख रुपैयाँ दिने भएको छ । गाउँपालिकाले बालविवाह रोक्न तथा महिलालाई उच्च शिक्षामा प्रोत्साहित गर्न विवाह नगरी स्नातक पास गर्ने छात्रालाई एक लाख रुपैयाँ दिने योजना ल्याएको हो । पालिकाले महिलालाई शिक्षित र आत्मनिर्भर बनाउन यस्तो व्यवस्था गरेको जनाएको छ ।
गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले महिलालाई शिक्षित र आत्मनिर्भर बनाउ यस्तो व्यवस्था गरिएको बताएका छन् । उनले भनेका छन्, ‘विवाह नगरी स्नातक पास गर्ने छात्रालाई एक लाख रुपैयाँ दिन्छौं ।’ उनी थप्छन्, ‘स्नातक पास गर्ने उमेरसम्मा छात्राहरु परिपक्व हुने र आफ्नो निर्णय गर्न सक्ने बन्छन् । यसले समाजलाई सचेत, सुसंस्कृत र समक्ष गराउन मद्दत पुग्छ ।’
आफ्नो पालिकामा बालविवाह ह्वात्तै बढ्न थालेपछि प्रोत्साहन स्वरुप नगद दिएर त्यसलाई न्यूनिकरण गर्न यस्तो योजन ल्याइएको अध्यक्ष मुक्तानले बताएका छन् । ‘विवाह गरेपछि छात्राहरू पढ्ने अवसरबाट बञ्चित हुनेगरेका छन् । पढाइ बीचैमा रोकिँदा उनीहरुको भविष्य अन्धाकार हुन सक्छ ।
कम उमेरमै विवाह गर्नाले अशिक्षित समाज बढ्दै जान सक्छ । त्यसले अशिक्षित पालिका हुने डर भयोे,’ अध्यक्ष मुक्तान भन्छन् । उनी थप्छन्, ‘महिला आत्मनिर्भर बनून् र शिक्षाप्रति लगाव बढोस् भनेर गत असारमा सम्पन्न कार्यपालिका बैठकबाट यो निर्णय गरेका हौं ।’
उनले सो निर्णय कार्यान्वयनको चरणमा पुगेको प्रष्ट पारे । उनी भन्छन्, ‘पालिकाभित्रका छात्राको तथ्यांक संकलन गरिरहेका छौं ।’ अध्यक्ष मोक्तान भन्छन्, ‘२०७९ सालमा स्नातक गरेका तर विवाह नगरेका छोरीहरूले समेत नगद पाउनेछन् ।’
एसइई उत्तीर्णपछि लगातार कक्षा ११ र १२ को अध्ययन थाल्ने छात्रालाई गाउँपालिकाले साइकल दिने भएको छ । सो ल्याएपछि छात्राहरुले कक्षा ११ र १२ को अध्ययनममा रुचि देखाउन थालेका छन् । उनीहरूको पढाइमा स्नातकसम्म निरन्तारता दिन प्रोत्साहन स्वरुप एक लाख रुपैयाँ दिने योजना ल्याइएको अध्यक्ष मुक्तानले बताए । स्नातकसम्म अध्ययनका लागि पालिकाभित्रै क्याम्पस रहेको उनले जनाएका छन् ।