बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

कागेश्वरी मनोहरा नगरपालिकाले पनि अव्यवस्थित संरचना हटाउने



काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले अव्यवस्थित रुपमा पार्किङ, फुटपाथ मिचेर बनाएका अव्यवस्थित संरचना हटाउने भएको छ । महानगरले असोज ३ गते सोमबारबाट त्यस्ता संरचना हटाउने निर्णय गरेको हो । गत शनिबार कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना वीरेन्द्र चोकमा वडा अध्यक्षद्वय भीमसेन थापा र अनिल थापाको संयुक्त उपस्थितिमा सो निर्णय गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ ले भदौ २७ गते एक हप्ताको अल्टिमेटमसहित सूचना जारी गरेको थियो । वैशाख ३० गते सम्पन्न दोस्रो स्थानीय चुनाव भएपश्चात् गएको भदौ २० गते मूलपानीको नर्निङ रिसोर्टमा निर्वाचित भएर आएको सय दिनमा कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिहरूले भएगरेका काम तथा आगामी भावी विकास निर्माणका योजनाहरूका बारेमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका थिए ।

असोज १ गते नगरपालिकाले फेरि अबको १ सय दिनभित्र गर्ने कामहरूको जिम्मेवारीलाई वहन गर्दै ‘सु–व्यवस्थित एवं समृद्ध वडा निर्माण गर्ने हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित नगरपालिकाले गरेको कामको समीक्षामा ऐक्यबद्धता जनाएका थिए । सोही दिन जनप्रतिनिधिहरू वडा नम्बर ७ का अध्यक्ष भीमसेन थापा, ८ का अध्यक्ष अनिल थापा, वडा सदस्य जानुका चापागाईँ, नगर प्रमुखको कानुनी सल्लाहकार विश्वनाथ खनाल, समाजसेवीहरू हरिभक्त न्यौपाने, कृष्णप्रसाद लामिछाने, रञ्जन न्यौपाने, धर्मेन्द्र चापागाईं, कृष्णभक्त न्यौपाने, नगर प्रहरी तथा स्थानीय मानिसहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो । सोही ऐक्यबद्धतामा वडा अध्यक्ष भीमसेन थापाले नगरपालिकाले जारी गरेको सूचना पढेर सुनाएका थिए ।

यस सूचनालाई बेवास्ता गर्दै तोकिएको समय अवधिसम्म पनि उक्त संरचना नहटाइएको पाइएमा नगर प्रहरी, ट्राफिक प्रहरी, नेपाल प्रहरीसहितको उपस्थितिमा वडा कार्यालय सो संरचना हटाउन बाध्य हुने बेहोरा यसै सूचनाद्वारा अनुरोध गरिन्छ । सुदृढ एवं व्यवस्थित वडा निर्माणमा वडावासीको पूर्ण सहयोगको अपेक्षा गर्दै वडा कार्यालयले चालेको कदमबाट सम्बन्धित जग्गा, घरधनीहरूमा पर्न जाने असुविधाप्रति यस वडा कार्यालय क्षमा प्रकट गर्छ भनी सूचनामा उल्लेखसमेत थियो ।

सोही समयमा वीरेन्द्र चोकबाट वडा कार्यालयले जारी गरेको सूचनालाई आधार मान्दै नगर प्रहरीले माइकिङ गर्दै ७ नम्बर परिक्रमा पनि गरेको थियो भने माइकिङ गर्दै गर्दा पनि सडक अवरोध भएका ठाउँहरूमा नगर प्रहरी, वडा अध्यक्ष भीमसेन थापाले असोज ३ गते सोमबारदेखि यस्ता अवरोध हटाउनुहुन भनी अनुरोध गर्दै होटल तथा रेस्टुराँलाई सवारी साधनका लागि उचित पार्किङको व्यवस्था गर्न भनी सूचनाहरूसमेत वितरण गर्दै जानुभएको थियो । तपाईं–हामीले नै हो, हाम्रो समाज, हाम्रो सम्मुनत नगरको निर्माण गर्ने । नगरपालिकाले गरेको यस्तो कार्यलाई हामी सबैले आ–आफ्नो ठाउँबाट पालना गर्नु जरुरी देखिन्छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ६ : ०६ बजे