चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

सामुदायिक विद्यालयमा ‘टकिङ टिचर’ मार्फत अध्यापन गराइँदै



काठमाडौं । सिन्धुलीका सामुदायिक विद्यालयमा ‘टकिङ टिचर’ प्रविधिबाट अध्यापन शुरु भएका छन् । दुधौली नगरपालिका–३ का सबै सामुदायिक विद्यालयमा यस प्रविधिबाट अध्यापन शुरु गरिएको हो ।

यस वडामा रहेका राष्ट्रिय माध्यमिक विद्यालय, कालापानी, जनकल्याण निम्न माध्यमिक विद्यालय, तल्लो खुट्टेपानी, जनहित आधारभूत विद्यालय, माथिल्लो खुट्टेपानी र निम्न माध्यमिक विद्यालय, झुँगा आधुनिक प्रविधिमार्फत पढाइ हुन थालेको हो ।

बाल कक्षादेखि पाँच कक्षासम्म अंग्रेजी विषय ‘टकिङ टिचर’ अर्थात् आफैँ पढाउने कलम र स्मार्ट किताबमार्फत अध्यापन गराउन थालिएको विद्यालयका प्रधानाध्यापकले जानकारी दिए ।

जनहित आधारभूत विद्यालय, माथिल्लो खुट्टेपानीका प्रधानाध्यापक रमेश कटुवालले नयाँ प्रविधि ‘स्मार्ट किताब र आफैँ पढाउने कमल’ का माध्यमबाट बालबालिकालाई अध्यापन गराउन थालिएको बताए ।

वडाध्यक्ष भद्राकुमारी माझीले विद्यालय छुट्टी हुने समयमा एक कार्यक्रमको आयोजना गरी ‘टकिङ टिचर’ प्रविधि विद्यालयलाई हस्तान्तरण गरेकी थिइन् । हाल एक सेट मात्र आफैँ पढाउने कलम र स्मार्ट किताब उपलब्ध भएकाले एकैपटक धेरै कक्षामा पढाउन नसकिने भएकाले पालैपालो पढाउने ब्यवस्था मिलाइएको उनले बताए ।

यसले सामुदायिक विद्यालयमा देखिँदै आएको अंग्रेजी भाषासम्बन्धी समस्यासमेत न्यूनीकरण हुने उनको बुझाइ छ । यस प्रविधिलाई बोल्ने कमल पनि भनेर बुझ्ने गरिन्छ । बोल्ने कलमले स्मार्ट किताबको अक्षरमा छुवाउँदा शुद्धसँग बुझ्ने गरी पढाउँछ ।

यो प्रविधिअन्तर्गत बालकक्षादेखि कक्षा पाँचसम्मका बालबालिकाका लागि १७ वटा किताब प्याकेज तयार गरिएको छ । दुधौली नगरपालिका–३ का सामुदायिक विद्यालयमा परीक्षणका रुपमा यो कार्यक्रम लागू भएको नगर प्रमुख दिनेश अधिकारी दनुवारले बताए । रासस

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ४ : १५ बजे