बैशाख ७, २०८१ शुक्रबार Sat Apr 20 2024

डेंगु नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान



काठमाडौं । डेंगु नियन्त्रणका लागि खोटाङको दिक्तेल रुपाकोट मझवागढी नगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान थालेको छ । दिनानुदिन नगरपालिकामा डेंगुका बिरामी देखापर्न थालेपछि नगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गर्दै नष्ट गर्ने अभियान सुरु गरेको हो ।

स्वास्थ्य कार्यालयको समन्वयमा नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार दिक्तेलबजारमा र्‍यालीसहित होटल तथा पसलका भाँडाकुँडा र खाल्डाखुल्डीमा जमेको पानी पोखाएको छ । जमेको पानीमा डेंगु सार्ने लामखुट्टेको लार्भा हुर्कने भएकाले खुला ठाउँमा रहेको पानी हटाउने र सो पानीमा हुर्कंदै गरेको लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक खेमराज आचार्यले बताए ।

१५ वडा रहेको नगरपालिकामा हालसम्म कम्तिमा १८ जनालाई डेंगु संक्रमण पुष्टि भइसकेको छ । डेंगु नियन्त्रणका लागि क्रमशः संक्रमितकै घरमा पुगेर घर वरपर खुला ठाउँमा जमेको पानी र डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिने जनस्वास्थ्य निरीक्षक आचार्यले बताए ।

गत भदौ १४ गते यता जिल्लामा डेंगुका बिरामी देखिन थालेको हो । हालसम्म १५ पुरुष र १० महिलालाई डेंगु पुष्टि भइसकेको जिल्ला अस्पतालले जनाएको छ । एकैदिन तीनरचार जनासम्म डेंगुका बिरामी भेटिन थालेका छन् । डेंगु संक्रमित बिरामीलाई उच्च ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने र आँखा पछाडिको भाग दुख्ने लगायतका लक्षण देखिने गरेको जिल्ला अस्पतालका डा। नितु लामाले बताइन् ।

सिकिस्त अवस्थाका बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचारको प्रबन्ध मिलाइएको छ । शरीरमा सेतो रगत कम भएका १५ वर्षका एक बिरामीलाई भने अन्यत्र रेफर गरिएको अस्पतालले जनाएको छ । यो सिजनमा खोटाङमा विगतका वर्ष पनि डेंगुका बिरामी भेटिने गरेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  १ : ४९ बजे