श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

दार्चुलामा नेपाल-भारत जोड्ने मोटरेबल पुल



दार्चुला । त्रिदेशीय सीमा जोडिएको दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेबल पुलको शिलान्यास गरिएको छ । सोमबार महाकाली नगरपालिका(८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धारचुला तहसिल बलुवाकोट नजिकको छारछुम जोड्ने पुलको संयुक्त रूपमा शिलान्यास गरिएको हो ।

एक कार्यक्रमका बीच नेपालतर्फ नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारततर्फ उत्तराखण्डका मुख्यमन्त्री ९सीएम० पुष्करसिंह धामीले संयुक्तरुपमा शिलान्यास गरेका हुन् । भारतीय पक्षले निर्माण गर्ने एक सय १० मिटर लम्बाईको उक्त मोटरेबल पुलको शिलान्याससँगै त्रिदेशीय सीमा जोडिएको क्षेत्रमा अन्तरदेशीय पुल निर्माणले व्यापारिक मार्गमा जोडिने विश्वास गरिएको छ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले दार्चुला अब अन्तरदेशीय व्यापारको हब बन्ने विश्वास व्यक्त गरे । उनले सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक नाकाको रुपमा लिनुपर्ने बताए ।

‘सुदूरपश्चिमका पहाडी जिल्लाको पहिलो अन्तरदेशीय पुल निर्माण हुने भएको छ‚’ मन्त्री बडूले भने, ‘महाकाली कोरिडोरमा यो पुल निर्माण भइरहेको छ । यसले सुदूरपश्चिमका पहाडी जिल्लासँगै तराईसित व्यापारको कडी हुने छ ।’ यो पुलबाट चीनसँगको ताँलाकोट नाका १३४ किलोमिटर र तराईको बह्मदेवमण्डी २२१ किलोमिटर दूरीमा पर्छ । पुल निर्माणको सुरुवातले दार्चुलाको विकास तथा उनन्तीको ढोका खुलेको उनको भनाइ छ ।

नेपाल(भारत जोड्ने मोटरेबल पुल निर्माणपश्चात् दार्चुला जिल्ला सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र बन्ने सम्भावना बढेको दार्चुला उद्योग वाणिज्य संघका महासचिव सर्पराज बडूले बताए । उनले यसका लागि सरकारले त्रिदेशीय मार्ग महाकाली कोरिडोरलाई चाँडै निर्माणसँगै दार्चुलासित जोडिएको ताँलाकोट नाकालाई सञ्चालनमा ल्याउनुपर्ने हुन्छ ।

पुल निर्माणले नेपाल(भारतको सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ । व्यापारिकसँगै नेपाल भारतका नागरिकबीच सामाजिक सम्बन्ध जोड्न यो पुल सजिलो हुने स्थानीयको बुझाइ रहेको छ ।

जिल्ला समन्वय प्रमुख महादेव बडू ९कश्यप० को अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नेपालस्थित भारतीय दूतावासका डीसीएम प्रशान्त श्रीस्ताव, उद्योग मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीलगायतहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  २ : ५६ बजे