श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

डा. केसीको स्वास्थ्य जटिल, थप उपचारका लागि अन्यत्र लैजान आग्रह



काठमाडौँ । विभिन्न माग राखी धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थामा जटिलता बढ्दै गएको देखिएको छ । सेती प्रादेशिक अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार उनको स्वास्थ्यमा जटिलता बढ्दै गएको हो ।

अस्पतालले जनाएअनुसार केसीको मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्रावको शंका भएकोले थप जटिलताको आशंका गर्दै उनलाई उपचारार्थ बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्नुपर्ने भएको छ ।

अस्पतालका प्रवक्ता डा. शेरबहादुर कमरले विशिष्टिकृत अस्पतालमा स्थानान्तरणको पहल गरिदिन सुदूरपश्चिम मानव अधिकार आयोग, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र संघीय स्वास्थ्य मन्त्रालयमा जानकारी गराएको बताएका छन् ।

धनगढीस्थित कृष्णमन्दिरको धर्मशालामा अनशन बसेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि अनशन बसेको ३ दिनपछि २९ भदौमा सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालले जारी गरेको स्वास्थ्य बुलेटिनमा केसीलाई पेट दुख्ने, कमजोरी हुने, टाउको दुख्ने, रिङटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, मांशपेशी बाँउडिने, मुटुको धडकन गडबडी र अक्सिजनको मात्रा घट्दै गएको पनि अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  २ : ५० बजे