बैशाख ६, २०८१ बिहिबार Thu Apr 18 2024

सरकारसँग पाँच बुँदे सहमतिपछि मिटरब्याज पीडितद्वारा आन्दोलनका कार्यक्रम स्थगित



काठमाडौं । गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिबीच पाँच बुँदे सहमति भएको छ । यससँगै काठमाडौंको माइतीघरमा साढे एक महिना लामो आन्दोलन मिटरब्याज पीडितले स्थगित गरेका छन् ।

शनिबार गृहमन्त्रालयमा भएको वार्तामा गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा ५ बुँदे सहमति भएको हो । सहमतिमा मन्त्रालयका तर्फबाट मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलका संयोजकसमेत रहेका सहसचिव डा भीष्मकुमार भुसाल तथा संघर्ष समितिको तर्फबाट अध्यक्ष रामसुरत गुप्ताले हस्ताक्षर गरेका छन् ।

मन्त्रालय र समितिबीच मिटरब्याजी परिवारको सम्पत्ति छानबिनका सम्बन्धमा कार्यदलको सिफारिस बमोजिम गर्ने, मिटरब्याजीको निरन्तर मानसिक प्रताडना तथा हिंसाको कारण मृत्यु भएका ऋणिका परिवारलाई राहत तथा क्षतिपूर्ति पीडकबाट भराउन आवश्यक व्यवस्था मिलाउने सहमतिमा उल्लेख छ ।

त्यस्तै, ऋणिले साँवाब्याज चुक्ता गरेपछि फिर्ता गर्नेगरी साहु वा निजले इच्छाएको व्यक्तिका नाममा जग्गा रजिष्ट्रेसन पास गरिदिएको तर कानुनसम्मत हुन आउने साँवाब्जाय पूरै चुक्ता गर्दा वा गर्न तयार हुँदा पनि जग्गा फिर्ता नगरेको पुष्टि हुन आएमा उक्त जग्गा जुनसुकै तहसम्म विक्रि गरेको भएपनि साहुले उक्त जग्गा फिर्ता गर्न अन्र्तनिकाय समन्वय गरी कानुनी व्यवस्था गर्ने सहमति भएको छ ।

समितिका सदस्यहरुले आफूहरुका माग पूरा गर्न सरकारले सहमति गरेकाले सबै आन्दोलनका कार्यक्रम फिर्ता गरेको बताएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ५ : १४ बजे