१ बैशाख २०८३, मंगलबार Tue Apr 14 2026

ओलीलाई झलनाथको प्रश्न : तपाईंको सरकारलाई के कामले सम्झिने?



काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले केपी ओली नेतृत्वको सरकारले कुनै सम्झनलायक काम नगरेको आरोप लगाएका छन्।

शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकमा बोल्दै खनालले शान्त प्रतिपक्षी पाउँदा पनि ओली सरकारले कुनै काम गर्न नसकेको बताए।

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारसँग तुलना गर्दै खनालले त्योभन्दा सशक्त दुई तिहाई बहुमतको सरकारले केही गर्न नसकेको आरोप लगाए।

‘अल्पमतको सरकार भए पनि मनमोहन अधिकारीले ल्याएको आफ्नो गाउँ आफैं बनाउँ, ज्येष्ठ नागरिकलाई सम्मानलगायतका कार्यक्रम मार्फत् अहिले पनि उहाँलाई हामी सम्झन्छौं, त्योभन्दा दशौं बीसौं गुणा काम गर्न सक्ने खड्गप्रसाद शर्मा ओली सरकारको काम के हो त ? ’ खनालले भने,‘धरहरा ठड्याएँ भन्ने हो? रानीपोखरी बनाएँ भन्ने हो? रानीपोखरी त प्रताप मल्लले बनाएको होला नि त! धरहरा पनि भीमसेन थापाले बनाएको होला नि त! मर्मत गर्नेको नाम हुन्छ कि प्रस्तावना गर्नेको नाम हुन्छ? यो त सबैलाई जानकारी भएकै कुरा होला।’

कम्युनिष्टहरू कसरी अघि बढ्छन् भन्ने कुरामा मनमोहनलाई नजिर मानेर अघि बढ्नुपर्नेमा त्यसो नगरिएको उनको भनाइ छ । तत्कालीन प्रतिपक्ष नेपाली कांग्रेस शान्त भए पनि एकलौटी रुपमा चल्न खोजिएपछि ओली सरकार ढलेर खनालको दाबी छ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ५ : १३ बजे