श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

लोकतन्त्र नेपाली जनताको शासन हो : केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसलाई जनताको दिवसको रुपमा अगाडि बढाउनुपर्ने बताएका छन्।

संविधान दिवसको अवसरमा वाकथन (पदयात्रा) पछि बसन्तपुरमा समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको रक्षा गर्दै जनतालाई साथमा लिएर देशलाई विकासको बाटोमा लैजानुपर्ने धारणा राखेका हुन्। ‍

उनले नेपाली जनता, लोकतन्त्र, राष्ट्रियता, विकासको अभियान, सुशासनको प्रयास हार्न नहुने टिप्पणी गरे। पूर्वप्रधानमन्त्री ओलीले लोकतन्त्र नेपाली जनताको शासन भएकाले बाह्य हस्तक्षेप स्वीकार्य नहुने धारणा राखे। ओलीले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनले यसको फैसला जनता गर्ने बताए। उनले आगामी निर्वाचनमा एमालेले हार्न नहुने सन्देश दिएका छन् ।

ओलीले संविधानपछिको पाँच वर्षे कार्यकाल पूरा गरेर मुलुक अर्को निर्वाचनमा गइरहेको बताए। ‘संविधान जारी भएपछि भएको पहिलो आम निर्वाचन भएर पाँच वर्ष पूरा भएको छ। आज प्रदेश र प्रतिनिधिसभाको कार्यकाल समाप्त हुँदैछ।’ उनले भने, ‘संविधान कार्यान्वयनका लागि संघीय तह, प्रदेश तह र स्थानीय तहहरुलाई संयोजित ढंगले कसरी परिचालन गर्ने भन्ने सम्बन्धमा नयाँ अभ्यास सफलतापूर्वक अगाडि बढाएका छौं।’

संविधान सभाबाट २०७२ साल असोज ३ गते ‘नेपालको संविधान(२०७२’जारी भएको थियो। एमालेले संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा आज उपत्यकामा वाकथन ९पदयात्रा०गरेर मनाएको हो। उपत्यकाको नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोल गरी पाँच ठाउँबाट बिहान ७ बजे पदयात्रा सुरू भएको हो। नयाँ बानेश्वरको नेतृत्व अध्यक्ष ओलीले गरेका थिए।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  १२ : ३३ बजे