चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

वरिष्ठ पत्रकार सिताराम ढुंगेल काठमाडौं १ बाट स्वतन्त्र उठ्ने



काठमाडौं । आसन्न मंसिर ४ गते हुन लागेको संघ र प्रदेश निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरुले आफ्नो उम्मेदवार सिफारिस गर्ने क्रम पनि बढिरहेको छ । आगामी निर्वाचनमा दलबाहिरबाट स्वतन्त्र उम्मेदवारी दिनेको संख्या पनि राम्रै हुने अनुमान गरिएको छ ।

त्यसैगरी सत्याग्रह साप्ताहिकका प्रधान सम्पादक÷प्रकाशक एवं वरिष्ठ पत्रकार सिताराम ढुंगेलले पनि स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । ढुंगेलले काठमाडौं क्षेत्र नम्बर १ बाटा संघीय सांसद्को उम्मेदवारी दिन लागेका हुन् ।
ढुंगेलले नेपाली कांग्रेसका नेता, पूर्व सांसद तथा मन्त्री प्रकाशमान सिंहविरुद्ध उम्मदवारी दिन लागेका हुन् । यसअघिका निर्वाचनमा यसक्षेत्रबाट ढुंगेलले कांग्रेसलाई जिताउन पत्रकारिता र व्यक्तिगत रुपमा ठूलो भूमिका निर्वाह गरेका थिए ।

ढुंगेलले यसअघि कांग्रेस नेता प्रकाशमानलाई जिताउन दिलो ज्यान दिएर लागिपरेका थिए । अघिल्ला निर्वाचनहरुमा नेपाली कांग्रेसका नेता प्रकाशनमान पटक–पटक चुनाव लड्दा ढुंगेलको ठूलो योगददान रहेको थियो । यसरी प्रकाशमान पटक–पटक नेपाली कांग्रेसबाट सांसद् मन्त्री हुँदासमेत माखो मार्न नसकेका कारण उनीप्रति यस क्षेत्रका नेता, कार्यकर्ताहरु धेरै रुष्ट देखिन्छ ।

त्यहीं असन्तुष्टिका कारण सिताराम ढुंगेलले उनै नेता प्रकाशमान सिहं विरुद्ध कांग्रेस छोडेर स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् । ढुंगेलले नेपाली कांग्रेसको साधारण सदस्यसमेत त्यागेर स्वतन्त्र रुपमा कांग्रेस नेताविरुद्ध चुनाव लड्न लागेका छन् । ढुंगेलको उम्मेदवारीले प्रकाशमान सिंहलाई यो क्षेत्रबाट चुनाव जित्न निकै हम्मेहम्मे पर्ने देखिन्छ ।

उसैपनि यसपटक पुराना अनुहारले खासै चुनाव जित्ने देखिँदैन । त्यसैमा पनि ढुंगेल यो क्षेत्रका स्थानीय वासिन्दा, पत्रकारिता र समाजसेवाबाट जनताको काम गरेका र अहिलेसम्म कुनै लाभको पदमा नरहेकाले पनि दह्रो उम्मेदवारको रुपमा देखिन्छन् ।
यसपालि जनताले चाहे दलका उम्मेदवार होउन् अथवा स्वतन्त्र जो उठेपनि स्वच्छ छवि भएकालाई भोट दिने मनस्थिति जनताको रहेको पाइन्छ । गत स्थानीय निर्वाचनमा पनि स्वतन्त्रको चर्चा र उपस्थिति राम्रो रह्यो ।

काठमाडौं, धरान र कैलालीमा त झन् दलका नेतालाई धुलै चटाए भन्दा पनि हुन्छ । त्यो राप आगामी संघीय र प्रदेश निर्वाचनमा पनि राम्रैसँग तातिने निश्चित छ । झन्डै तीन दशक लामो पत्रकारिता अनुभव बटुलेका ढंगेल काठमाडौं क्षेत्र १ का तरिला उमेम्मेदवारमध्ये पर्दछन् ।

उनको उम्मेदवारी चर्चाले नयाँ वानेश्वर, पुरानो वानेश्वर, संखमूल, अनामनगर, बिजुली बजारलगायतका चोक, गल्ली र चिया चोकहरु तातिन थालेका छन् । नयाँ अनुहार र पत्रकारितासँगै समाजसेवामा राम्रो छवि बनाएका ढुंगेलको स्वतन्त्र उम्मेदवारीले दलका नेताहरु तिलमिलाउन थालेका छन् ।

कुनै दिन काठमाडौं क्षेत्र नम्बर १ प्रकाशमानले प्रतिपक्षीभन्दा झन्डै डबल मतान्तरले चुनाव जितेका थिए । २०७४ सालको निर्वाचनमा त्यहीं ठाउँमा उनैले झन्डै हार खानुपरेको थियो । यसको कारण चाहीं पटक–पटक अवसर पाउँदा पनि विकास, निर्माणको काम पटक्कै नगरेको ।

चुनावबाहेक अरु समय एक पटक पनि मुख नदेखाउने, आफ्ना क्षेत्रका नेता, कार्यकर्ता र जनतालाई पटक्कै नमान्ने, म त ठूलो नेताको छोरा त्यत्तिकै चुनाव जितिहाल्छु भन्ने घमण्ड देखाउनेलगायतको आरोप प्रकाशमान माथि जनताको छ । त्यसकारण पनि आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नं. प्रकाशमानको लागि फलामको चिउरा सावित हुँदैछ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ४ : १९ बजे