बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

राष्ट्रिय मा.वि.सोल्टाले स्वर्ण जयन्ती मनायो



कमलबहादुर बोहरा
कैलाली । राष्ट्रिय माध्यामिक विद्यालय सोल्टाले एक भव्य समारोहबीच आफ्नो स्थापनाकालको स्वर्ण जयन्ती मनाएको छ । विद्यालयले स्वर्ण जयन्ती कार्यक्रम यही भदौ २९ गते बुधबार मनाएको हो । कैलाली जिल्लाको दूर्गम क्षेत्र मानिने मोहन्याल गाउँपालिका–६, मा पर्ने सो विद्यालयले स्थापनाकालको ५० औं वसन्तमा पाइला टेकेको छ ।

विद्यालयको स्वर्ण जयन्ती कार्यक्रमका प्रमुख अतिथि कैलाली क्षेत्र नम्बर २ का सांसद झपटबहादुर रावल रहेका थिए । स्वर्ण जयन्ती कार्यक्रमको उद्घाटन प्रमुख अतिथि रावलले गरेका हुन् । उक्त विद्यालयको स्वर्ण जयन्ती कार्यक्रममा बोल्दै सांसद रावलले कैलाली ‘२’ को विकास र समृद्धिका लागिका लागि आफू निरन्तर लागिपर्ने वचवद्धता प्रकट गरेका थिए ।

उनले यस क्षेत्रको विकास र समृद्धिका लागि धेरै कामको थालनी गरेको पनि दावी गरे । रावलले कार्यक्रममा सांसद विकास क्षेत्र रणनीतिक योजनाअन्तर्गत चिसापानी–खिमडी सडकखण्डमा कसैले अवरोध गरेर काम नरोकिने ठोकुवा गरे ।
त्यसैगरी कार्यक्रममा बोल्दै रावले एमाले छोडेर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका नेता रतन थापा छिट्टै एमालेमै फर्कीने पनि बताएका थिए । उनले देशको नेतृत्व गर्न सक्ने पार्टी एमाले मात्रै भएको भन्दै वामपन्थी विचार राख्ने व्यक्तिहरु ढिलोचाँडो एमालेमै फर्कने बताएका थिए ।

त्यसैगरी कैलाली क्षेत्र नम्बर ‘२’ प्रदेश सभा ‘क’ का सांसद रतन थापाले आफ्नो कार्यकालमा सबैभन्दा धेरै बजेट मोहन्यालमा पारेको बताएका थिए । कार्यक्रममा थापाले प्रत्येक वर्षको बजेटमा राष्ट्रिय माध्यामिक विद्यालय सोल्टालाई नछुटाउने स्पष्ट पारे । उनले नेकपा एमालेको पालामा देशमा धेरै विकास निर्माणका काम भएको ठोकुवा गरे । त्यस्तै माओवादीबाट एमालेमा आएका खेमराज भट्टले आपूmलाई एमाले पार्टीमा बस्न नदिएको थापाले गुनासो पोखे ।

सांसद थापाले चिसापानी–सोल्टा सडक खण्डमा आफ्नो पहलमा दुई वटा पक्की पुल बनिसकेको र अरु बनाउने क्रममा डीपीआर तयार भएको औल्याए । कार्यक्रममा बोल्दै मोहन्याला गाउँपालिका अध्यक्ष देविदत्त उपाध्यायले मोहन्याली जनताको चाहना अनुसार काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा उपाध्यायले आफूलाई गाउँपालिका अध्यक्षको हैसियतमा कार्यसम्पादन गर्न अप्ठ्यारो पार्न एउटा समूह लागिपरेकाले त्यसलाई होसियार रहन सुझाएका थिए । २०२९ भाद्र २९ गते स्व.नवलसिंह रावलको अध्यक्षतामा ७ सदस्यीय समिती गठन गरी राष्ट्रिय माध्यामिक विद्यालयको तल्लो सोल्टामा मुसे राजीको घरमा पाठशालाको रुपमा थालनी गरिएको थियो । विद्यालय स्थापनापछि पठनपाठन सुचारु गर्न शिक्षकका रुपमा तेजबहादुर सिंजालीलाई नियुक्ति गरिएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ११ : ५६ बजे