माघ ११, २०८१ शुक्रबार Fri Jan 24 2025

म हात मिलाउन खोज्थेँ ‘प्रचण्ड हात लुकाईलुकाई हिंड्थे’ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहकर्मी पुष्पकमल दाहाल प्रचण्डको कटु आलोचना गरेका छन् ।

माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियारलाई पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै ओलीले आफूलाई प्रचण्डले पार्टीबाट निष्कासन गरेको प्रसंग उक्काए ।

‘मैले प्रचण्डलाई आउनुस् मित्र, एकीकृत पार्टी बनाउँ, बलियो वामपन्थी आन्दोलन बनाउँ, समाजवादतर्फ अघि बढौं भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको राखेँ । मैले अँगालो हालेको थिएँ, हात मिलाएको मात्र होइन’ ओलीले भनेका छन्, ‘प्रचण्ड हात लुकाईलुकाई हिंड्थे, म अलिकति सचेत थिएँ । नभन्दै मैले अँगालो मारें, प्रचण्डले ग्वाम्म छुरी रोपे ।’

ओलीले अगाडि भने, ‘म एकता, एकीकरण भन्ने, प्रचण्ड मलाई साधारण सदस्यबाट निकाल्ने ।’आफूले दिएको वरदान प्रयोग गरेर प्रचण्डले आफैंलाई भष्म पार्न खोजेको ओलीको आरोप छ ।

२०७४ मा वाम गठबन्धन बनाएर चुनाव लडेका एमाले र माओवादी केन्द्रबीच ३ जेठ २०७५ मा एकता भएको थियो । तर तत्कालीन प्रधानमन्त्री ओलीले ५ पुस २०७७ मा प्रतिनिधिसभा भंग गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली र प्रचण्ड–माधव समूहमा विभाजित भयो । ओलीले आफ्नो समूहको बैठक राखेर केन्द्रीय कमिटी विस्तार गरे भने प्रचण्ड–माधव समूहले बहुमत केन्द्रीय सदस्यहरुको बैठक राखेर ओलीलाई पार्टीबाट निष्कासन गरेका थिए ।

आखिरी दुवै कारबाहीलाई निर्वाचन आयोगले मान्यता दिएन । बरु २३ फागुन २०७७ मा सर्वोच्च अदालतले नामसम्बन्धी विवादमा फैसला गर्दा नेकपाको एकता नै खारेज गरिदियो । यससँगै एमाले र माओवादी केन्द्र व्यूँतियो ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ५ : ५६ बजे