चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

गठबन्धन सरकारले देशलाई दुर्घटना हुनबाट जोगाएको छ : प्रकाशमान सिंह



काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको बताएका छन् ।

वागमती नदी किनारका अव्यवस्थित बस्तीहरुको दीर्घकालीन समस्या समाधानका बिषयमा बिहीबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा उनले तत्कालीन नेकपाको सरकारले नेपालको संविधान, भावना र मर्म अनुसार काम नगरेको र संसदलाई दुईपटक भंग गरेको कारणले संविधानलाई जोगाउनका लागि गठबन्धनको सरकार बनेको उनले बताए।

आगामी निर्वाचनबाट देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आम मतदाताहरूले विकास गर्ने पार्टी र नेताहरुलाई मतदान गरेर जिताउनुपर्ने उनले बताए ।

त्यस्तै उनले वागमती नदी किनारका अव्यवस्थित बस्तीहरुको दीर्घकालीन समस्या समाधानका गर्न आफू प्रतिवद्ध रहेको बताए । काठमाडौं जिल्ला भूमि आयोगले थालनी गरेका कामलाई तदारुकताका साथ अघि बढाउन सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

नेता सिंहले वागमती नदीको किनारका बस्तीहरुको आक्रोश रहेको भन्दै त्यहाँका समस्याको समाधान गरेर नै अघि बढ्नु पर्ने आवश्यकता रहेको धारणा राखे ।

तत्कालीन नेकपाको सरकारले आवश्यक कानून समयमा नै नबनाइदिएका कारण अहिले स्थानीय सरकारलाई दिनुपर्ने अधिकार केन्द्रबाट नै हुने गरेकाले समस्या सिर्जना भइरहेको उनले बताए ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  २ : ०५ बजे