श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

दोलखा कांग्रेसले इतिहास रच्दै, वर्मा लामा १ नम्बरमा सिफरिस



काठमाडौं । आगामी मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनको लागि जिल्लाबाट आ–आफ्ना पार्टीका नेताहरुको नाम सिफारिस गर्ने सिलसिला जारी छ । त्यसै मेसोमा दोलखा जिल्लाबाट नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा एक नम्बरमा सिफारिस भएका छन् ।

दोलखामा लामा सभापति भएपछि कांग्रेस संगठन सुदृढ भएको स्थानीय नेता, कार्यकर्ताको ठम्याइ छ । लामाको सवल भूमिकाकै कारण गत स्थानीय निर्वाचनमा पनि कांग्रेस पहिलो पार्टी बन्न सफल भएको छ । सभापति लामा पार्टी संगठनका हिसावले इमानदार, कर्मठ र जनताका सुख, दुःखका नेता भनेर चिनिन्छन् ।

नेकपा एमालेले झन्डै ३० वर्ष एकलौटी राज गर्दै आएको दोलखाको किल्ला भत्काउन लामा सफल भएका छन् । आगामी आमनिर्वाचनमा पनि कांग्रेसको जित सुनिश्चित गराउन लामा दिलो ज्यान दिएर लागेको बताउँछन् । उनी थप्छन्, ‘स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाएको छु, अब संघ र प्रदेशमा पनि एमालेलाई बढारेर छाडिने छ ।’

सधैं सहमति, सहकार्य र एकतालाई जोड दिने लामा पार्टी संगठनलाई चुस्त, दुरुस्त र गुटरहित ढंगले अगाडि बढाउन दत्तचित्त भएर लागिपरेको स्थानीय कार्यकर्ताको भनाइ छ । सबै तह, तप्का, वर्ग, समुदायलाई एकढिक्का बनाएर कांग्रेस संगठनलाई सक्षम, सबल र सुदृढ बनाउन दोलखामा लामाको भूमिका महत्वपूर्ण देखिन्छ ।

यी समग्र विषयलाई नियाल्दा दोलखा कांग्रेसमा वर्मा लामाको पल्लाभारी देखिन्छ । कांग्रेस राजनीतिसँगै समाजसेवामा तल्लीन लामा कुशल संगठक र कर्मशील नेता भनेर चिनिन्छन् । सधैं उत्पीडित र आवाजबिहीनको आवाज बुलन्द गर्ने लामा हक्की स्वाभावका नेता र स्पष्ट वक्ता हुन् । पार्टी संगठनको लागि मरिमेट्ने नेता वर्मा लामा जनतासामु लोकप्रिय जनप्रेमी छवि बनाउन सफल देखिन्छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ७ : ३४ बजे