श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

न्यायाधीश सिफारिस भएकाहरू विरुद्ध उजुरी आह्वान



काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएकाहरू विरुद्ध उजुरी दिन आह्वान गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले न्याय परिषदद्वारा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका निता गौतम दीक्षित, विनोद शर्मा र डिएन पराजुलीविरुद्ध उजुरी आह्वानका लागि १० दिनको सूचना जारी गर्ने निर्णय गरेको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय सुनुवाइको कार्यविधिअनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको जानकारी दिए । संसद्को कार्यकाल केही दिनमा सकिने भएपछि प्रक्रिया छोट्याएर सुनुवाइ गर्ने विषयमा बैठकमा छलफल भएको थियो । तर त्यसले बाहिर नकारात्मक सन्देश जाने भएकाले नियमित प्रक्रिया नै सुरु गर्ने निर्णय बैठकले गरेको हो ।

समिति सभापति कर्णले संसदीय सुनुवाइ समितिको कार्यविधि अनुसार नै प्रस्तावित व्यक्तिहरूको बारेमा उजुरी दिन सार्वजनिक सूचना जारी गर्ने निर्णय भएको बताए ।

बैठकमा समिति सदस्यहरूले सार्वभौम प्रतिनिधिसभाको समयावधि तोक्ने काम आयोगलाई नभएको बताएका थिए । बैठकमा एमाले मुख्य सचेतक विशाल भट्टराईले निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल तोक्नु उचित नभएको बताए ।

त्यस्तै माओवादी केन्द्रका सांसद देव गुरुङले कार्यकालको व्याख्याले प्रतिनिधिसभालाई रिक्तताको स्थितिमा लैजाने धारणा राखे ।

न्यायाधीशका लागि सिफारिस भएका दीक्षित उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश हुन् भने शर्मा उच्च अदालत जनकपुरका कायममुकायम मुख्य न्यायाधीश हुन् । त्यस्तै पराजुली नेपाल ल क्याम्पसमा प्राध्यापक हुन् ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ५ : ११ बजे