श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

सल्यान प्रदेश ‘ख’मा चक्रको चर्चाले कांग्रेस चकित



काठमाडौं । नेपाली कांग्रेस, सल्यानका उपसभापति चक्र देवकोटा सल्यान ‘ख’ बाट प्रदेश सभा सदस्यमा उमेदवारका लागि सिफारिस भएका छन। नेपाली कांग्रेसको भ्रातृसंस्था नेविसंघबाट राजनीति यात्रा सुरु गरेका देवकोटा पार्टीको १४औं अधिवेशनबाट नेपाली कांग्रेस, सल्यानको उपसभापतिमा निर्वाचित भएका हुन् ।

आगामी मंसिर ४ गते हने प्रदेश सभा निर्वाचनमा सल्यान ‘ख’ बाट उमेदवार बन्न लागेका छन् । वि.सं. २०३१ साल मंसिर ३० गते सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ५ रिममा जन्मेका देवकोटा सल्यान कांग्रेसको राजनीतिमा निरन्तर लागिपरेका सिद्धान्तनिष्ठ, सालिन र अनुशासित नेताका रुपमा चिनिन्छन् ।

निरङ्कुश पन्चायती व्यवस्थामा नेपाली कांग्रेसका नेता पूर्व केन्द्रीय सदस्य डिल्लीराज रेग्मीलाई प्रहरीले देवकोटाकै घरमा सेल्टर लिएर बसेको बेला पक्राउ गरेर लिएको देख्दा नेपाली कांग्रेस पार्टीको बारेमा बुझ्ने उत्सुकता जागृत भयो। आफ्नै पिता इन्द्रबहादुर खत्री त्यतिबेलादेखि नै प्रतिवन्धित नेपाली कांग्रेसमा लागेका र आफ्नै पिताबाट प्रतिबन्धित कालमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले पार्टीमा गरेको योगदानका बारेमा बुझ्ने मौका पाउँदा उनको बालमानसपटलमा गहिरो छाप पर्यो। २०४६ साल चैत २६ गते मुलुकमा प्रजातन्त्र पुनःस्थापना भए लगत्तै कक्षा ८ मा अध्ययनरत हुँदा जीवन ज्योति माध्यमिक बिद्यालय, रिमको नेविसंघको संस्थापक इकाइ सभापति भए।

बिद्यालय शिक्षा सक्ने बित्तिकै उनी नेविसंघ, सल्यानको सचिव र उपाध्यक्ष भएर सांगठनिक काममा लागे। २०५२ सालमा भएको नेविसंघको जिल्ला अधिवेशनबाट नेविसंघ, सल्यानको अध्यक्ष भएर २०५७ सम्म काम गरे। त्यसपछि विद्यार्थी राजनीति छोडेर नेपाल तरुण दल, सल्यानको उपाध्यक्ष अनि अध्यक्षको जिम्मेवारी लिएर तरुणका माझमा आफ्नो लोकप्रियता झन बढाउने अवसर प्राप्त गरे ।

२०५९ सालमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य भएर पार्टी राजनीतिमा प्रवेश गरेका देवकोटा १२औं अधिवेशनबाट नेपाली कांग्रेसको सचिव भएर काम गरे। फेरि १३औं अधिवेशनबाट सचिव निर्वाचित भएर काम गरेका देवकोटा १४औं अधिवेशनमा नेपाली कांग्रेस, सल्यानको उपसभापति निर्वाचित भए ।

राजनीतिलाई सेवाको रुपमा लिने चक्र देवकोटा अनाथ बालबालिकालाई शिक्षा दीक्षा दिने नयाँ नेपाल समाज केन्द्र, काठमाडौ र अर्को समाजसेवामा काम गर्दै आएको जे.भी. फाउन्डेसनको सल्लाहकार भएर सेवामूलक काम पनि गरिरहेका छन।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  १२ : २८ बजे