श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

वीरगञ्ज महानगरपालिकाको सल्लाहकारमा अशोक टेमानी



वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले उद्योगी अशोक टेमानीलाई सल्लाहकारमा मनोनयन गरेको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका टेमानीलाई वीरगञ्ज महानगरपालिकाको बृहत्तर विकाससँगै कार्यालयबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउन मार्गदर्शक बन्ने मनोनयन पत्रमा उल्लेख छ ।

इण्डोनेपाल इकोनोमिक फोरमका अध्यक्षसमेत रहेका टेमानीले महानगरपालिकाको कार्यसम्पादनमा आवश्यक सल्लाह सुझाव दिएर महत्वपूर्ण भूमिका निर्वाह गर्ने महानगरपालिकाले विश्वास लिएको छ ।

महानगरपालिकाका विभिन्न योजना एवम् कामसँगै ३ दशकबढी उद्यमको क्षेत्रमा सक्रिय व्यक्तिको सल्लाह सुझावले महानगरपालिकाका काम कारवाही प्रभावकारी हुने बुझाइ महानगरको छ ।

मनोनयनपछि खुशी व्यक्त गर्दै उद्योगी टेमानीले आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने वचनबद्धता गरे ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ५ : ०० बजे