बैशाख १४, २०८१ शुक्रबार Sat Apr 27 2024

अमरेशकुमार सिंहको नाम सिफारिस भएको छैन : वीरेन्द्रप्रसाद सिंह



काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंहले सर्लाही क्षेत्र नं. ४ बाट अमरेशकुमार सिंहको नाम सिफारिस नभएको बताएका छन् । मधेस प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद विकासमन्त्री समेत रहेका उपसभापति सिंहले अमरेशलाई यसअघि नै अनुशासन समिति बैठकले कारबाही गरिएकाले उनको नाम सिफारिस नगरिएको बताएका हुन् ।

सर्लाही क्षेत्र नं. ४ बाट महामन्त्री गगन थापाको एकल नाम सिफरिस गरिएको उनले बताएका छन् । स्थानीय तहको चुनावको बेला अमरेशकुमार सिंहले कांग्रेस उम्मेद्वार हराउन भूमिका खेलेकाले जिल्ला अनुशासन समिति बैठकले निलम्बन गरिएको पनि उनले बताए ।

‘स्थानीय तहको चुनावकै बेला उहाँले पार्टीलाई धोका दिएपछि कारबाही गरेर निलम्बन गरिएको छ । निलम्बन गरिएको व्यक्तिको नाम सिफारिस गर्न मिल्दैन तर उनले निवेदन दिएपछि सिफारिस गरिएको चर्चा गलत हो । उहाँको ठाउँमा महामन्त्री गगन थापाको नाम सिफारिस गरेर पठाइएको छ । बाहिर गलत प्रचार भइरहेको छ ।’

यस्तै मधेस प्रदेशका कांग्रेस सभापति कृष्ण यादवले सिफारिसका लागि अमरेश सिंहको निवेदन प्रदेश समितिमा आएको बताए । जिल्लाले अनुशासनको कारबाही गरेको हुनाले सिफारिस हुन नपाएको भन्दै उनले निवेदन दिएको बताए । सिंहले दिएको निवेदन केन्द्रमा पठाइएको पनि यादवले बताए ।

‘नाम सिफारिस गरिदिन अमरेश सिंहले निवेदन दिएका छन् । उनको निवेदन हामीले केन्द्रमा फरवार्ड गरिदिएका छौँ,’ ‘नाम सिफारिस जिल्लाकै प्रतिनिधि सभा र प्रदेश सभा समितिले गर्ने भएकाले हामीले निवेदन मात्रै फरवार्ड गरेका हौँ । केन्द्रले जे निर्णय गर्छ, त्यही अनुसार हामी सिफारिसका लागि समन्वय गर्ने मात्रै हो ।’

सिंहले सर्लाही ४ बाट प्रतिनिधिसभा उम्मेद्वार बन्न नाम सिफारिस गर्न निवेदन दिएका हुन् । तर जिल्ला समितिले सिंहको नाम निलम्बनमा राखेकाले सर्लाही ४ बाट गगन थापाको एकल सिफारिस गरेको छ । सिंहले आफू सो क्षेत्रबाट सिफारिस भएको भन्दै चर्चा गरिरहँदा जिल्लाको निलम्बन फुकुवा गरिदिन प्रदेशमा निवेदन दिएको सभापति यादवले बताए ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ९ : ५६ बजे