चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

नेमकिपाको पेवाजस्तै मानिएको भक्तपुर १ः यसपालि को होला उम्मेदवार ?



काठमाडौं । राजनीतिक हिसाबले विगत लामो समयदेखि भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ नेपाल मजदुर किसान पार्टीले कब्जा जमाउँदै आएको छ । गत स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले निकटतम प्रतिस्पर्धीलाई राम्रै मतान्तरले पछाडि पारेको थियो ।

नेमकिपाको यही बलियो पकड भएका कारण आगामी मङ्सिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावबाट आउने सिटको नतिजामा भक्तपुर १ लाई सत्तारुढ गठबन्धन दलले आफ्नो हिसाबमा राख्न सकेको छैन ।

विभिन्न निर्वाचन क्षेत्रका लागि उम्मेदवार सिफारिस गर्न ठुला दल व्यस्त रहेका बेला नेपाल मजदुर किसान पार्टीले पनि आन्तरिक गृहकार्य गरिरहेको छ ।

२ सय ७५ सिटको प्रतिनिधि सभामा १ सिटको प्रतिनिधि गर्ने सानो दल भए पनि फरक कार्यशैली र भक्तपुर केन्द्रित राजनीति र संसद्मा सदाबहार प्रतिपक्षको भूमिका निभाउने भएका कारण नेमकिपाले छुट्टै पहिचान बनाउँदै आएको छ ।

२०७४ सालमा भएको निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ बाट प्रेम सुवाल प्रतिनिधि सभाको सांसद बनेका थिए भने प्रदेश तर्फ सुरेन्द्रराज गोसाई र सृजना सायजू बागमती प्रदेश सांसद बनेका थिए । २०४८ सालदेखि भक्तपुर १ मा नेमकिपाले एकछत्र राज गर्दै आएको छ ।

हालै नेपाल मजदुर किसान पार्टीले ३२ औँ केन्द्रीय परिषद् बैठक सकेको छ । बैठकमा चुनावको तयारी लगायतका एजेण्डामा छलफल भएको केन्द्रीय सदस्य सुरेन्द्र गोसाईले रातोपाटीलाई बताए । सो परिषद्ले यो पटकको निर्वाचनको पनि उपयोग गर्ने निर्णय गरेको छ ।

केन्द्रीय परिषद्ले जिल्ला जिल्लाका अध्यक्ष तथा पार्टीका कार्यकर्ताहरूलाई प्रशिक्षण समेत दिएर कार्यकर्ताहरूलाई जिल्ला जिल्लामा खटाएको छ । अहिले समानुपातिक तर्फको उम्मेदवार छनौटको लागि काम भइरहेको उनले बताए ।

उम्मेदवार अहिलेसम्म सिफारिस नगर्नुको कारणबारे केन्द्रीय सदस्य गोसाईले भने–‘हाम्रो पार्टीमा उम्मेदवारहरूको सिफारिस गर्दा कमिटीको तहगत रूपबाट गर्ने प्रणाली छ । ठुला पार्टीहरूमा त उम्मेदवार सिफारिस गर्नै मोलमोलाइ हुन्छ । तर हाम्रोमा सैद्धान्तिक वैचारिक रूपमा तयार भएका साथीहरूलाई जोड दिएर गर्नुपर्ने हुन्छ । आन्तरिक रूपमा कमिटीहरूमा छलफल गर्दै चरणबद्ध रूपमा टुङ्ग्याउने चरणमा रहेका छौँ ।’

ठुला दलले उम्मेदवारको रूपमा व्यक्ति प्रचारको नीति लिएजस्तो नेपाल मजदुर किसान पार्टीले भने बिचार, सिद्धान्त प्रचार गर्ने र त्यसमै प्रतिबद्ध भएको उम्मेदवार चयन गर्ने गोसाई बताउँछन् । उनले देशको कुरा भन्दा व्यक्ति उम्मेदवारको कुरामा ठूला दल केन्द्रित भएका कारण उनीहरूको बिचार सिद्धान्त मर्दै गएकोप्रति जोड दिए ।

उनले भने–‘हाम्रोमा व्यक्ति चुनावमा उठ्ने हैन पार्टी नै चुनावमा उठ्ने हो, पुँजीवादी पार्टीहरू व्यक्तिलाई हाइलाइट गर्छन् । सेलिब्रेटी जस्तै नेता तयार गर्छन् । व्यक्तिको हो हल्लाको आधारमा मत तान्न खोज्छन् । हामी त्यसको ठिक विपरीत धारमा छौँ । हामी पार्टीको, सङ्घर्षको कुरा गर्छौँ । यसरी गर्दा व्यक्ति गौण हुन्छ । चुनावमा को उठ्ने भन्दा पनि कसरी जनताकोमा बिचार लाने रु कस्तो खालको नीति अघि सार्ने भन्नेमा हामी बढी जोड दिन्छौँ ।’

पञ्चायती शासन ढले पछिको पहिलो आम निर्वाचन २०४८ सालदेखि नेपाल मजदुर किसानले भक्तपुर क्षेत्र नम्बर १ मा जरा गाडेको छ । त्यो बेलादेखि २०७० सालसम्म पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले ५ पटक सांसद जितेका थिए । २०७४ सालको चुनावमा भने उनले आफूलाई समानुपातिक सूचीमा पनि राखेन भने प्रत्यक्ष उम्मेदवारी पनि दिएनन् । २०७४ सालको प्रेम सुवालले भक्तपुर १ बाट चुनाव जितेका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ११ : २२ बजे