चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

मनाङ कांग्रेसबाट प्रतिनिधिसभामा टेकबहादुर गुरुङ सिफारिस, प्रदेशमा दिपक मनाङे



काठमाडौं । नेपाली कांग्रेस मनाङले प्रतिनिधिसभातर्फ प्रत्यक्षमा केन्द्रीय सदस्य टेकबहादुर गुरुङलाई सर्वसम्मत सिफारिस गरेको छ । मनाङ कांग्रेसको जिल्ला कार्यसमिति बैठकले क्षेत्रबाट आएको सिफारिसअनुसार नेता गुरुङलाई एकल र सर्वसम्मत उम्मेदवारको रूपमा सिफारिस गरेको हो ।

यसैगरी प्रतिनिधिसभाको समानुपातिकतर्फ महाधिवेशन प्रतिनिधि च्युङ गुरुङ (कर्मा)लाई सिफारिस गरिएको छ ।

प्रदेश सभा निर्वाचन क्षेत्र (क)

प्रदेश सभा निर्वाचनका लागि निर्वाचन क्षेत्र (क) मा भने कांग्रेसले प्रत्यक्षतर्फ चारजनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस हुनेहरूमा पार्टी महासमिति सदस्य साङदो लामा, जिल्ला उपसभापति चन्द्र घले, क्षेत्रीय सभापति छिरिङ घ्याल्पो लामा र प्रदेश अधिवेशन प्रतिनिधि मुनिन्द्रजंग गुरुङ रहेका छन् । बैठकको निर्णयानुसार प्रदेश सभा निर्वाचन क्षेत्र (क) का लागि समानुपातिकतर्फ जिल्ला सचिव महेन्द्र घले सर्वसम्मत सिफारिस भएका छन् ।

प्रदेश सभा निर्वाचन क्षेत्र (ख)

कांग्रेस मनाङले आगामी मंसिरमा हुने प्रदेश सभा निर्वाचन (ख)का लागि राजीव गुरुङ (दीपक मनाङे)लाई समर्थन गर्ने भएको छ । प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र रहेको मनाङमा निर्वाचन क्षेत्र नं. (ख)मा स्वतन्त्र उम्मेदवारको रूपमा राजीव गुरुङलाई समर्थन गर्ने निर्णय भएको जिल्ला सभापति गुरुङले जानकारी दिए ।

कांग्रेस जिल्ला कार्यसमिति मनाङको बिहीबार बसेको बैठकले गण्डकी प्रदेश सरकारका मन्त्रीसमेत रहेका गुरुङलाई समर्थन गर्ने निर्णय गरेको हो । कांग्रेस नेतृत्वको प्रदेश सरकार बनाउन भूमिका खेलेका वर्तमान खेलकुदमन्त्री गुरुङलाई गठबन्धनको भावना र पार्टीको नीतिअनुसार सहयोग गर्ने निर्णय गरेको कांग्रेस मनाङले जनाएको छ ।

अघिल्लो निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिएका गुरुङलाई तत्कालीन समयमा नेकपा एमालेले साथ दिएको थियो । यसैगरी, प्रदेश सभा निर्वाचन क्षेत्र (ख)तर्फ मनाङ कांग्रेसले जनजातितर्फ कर्मा गुरुङ र महिलातर्फ गीता गुरुङलाई सिफारिस गरेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  २ : ३३ बजे