जेष्ठ २, २०८१ बुधबार Wed May 15 2024

रुसले उत्तर कोरियाबाट हतियार किन्न लागेको अमेरिकाको दाबि



काठमाडौँ । ६ महिना भन्दा लामो युक्रेन युद्धमा रुसको हतियारको भण्डार खाली भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अब उत्तर कोरियाली शासक किम जोङ उनको शरण लिएको मिडिया रिपोर्ट सार्बजनिक भएको छ ।

रुसले अहिले उत्तर कोरियाबाट लाखौं रकेट र आर्टिलरी गोला खरिद गरिरहेको छ । रुस र उत्तर कोरियाबीच भएको हतियार सम्झौतामा अमेरिकी गुप्तचर निकायले यो ठूलो खुलासा गरेको छ । यसअघि रुसले इरानसँग ड्रोन विमान खरिद गर्ने सम्झौता गरेको थियो । इरानी ड्रोनहरू अब रसियामा पनि पुगेका छन् ।

अमेरिकी अधिकारीहरुले रुसले अब एकान्त उत्तर कोरियासँग हतियार किनिरहेको दाबी गरेका छन् । किमसँग रुसको प्रवेशले युक्रेन युद्धमा रुसी सेनाले ठूलो हतियार अभावको सामना गरेको देखाउँछ। रुसविरुद्ध धेरै प्रकारका प्रतिबन्धहरू भएकाले यस्तो अवस्था आएको विश्लेषण गरिएको छ । अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले रुसले आगामी दिनमा उत्तर कोरियाबाट थप हतियार किन्न सक्ने अनुमान गरेका छन् ।

अमेरिकी गुप्तचर अधिकारीहरूले रुसले हाल उत्तर कोरियाबाट कति हतियार किन्न चाहन्छ भन्ने स्पष्ट बताएका छैनन् । यो खुलासा जब बाइडेन प्रशासनले रूसी सेनाले युक्रेनको युद्धमा प्रयोग गर्न इरानबाट ड्रोनहरू खरिद गरेको खुलासा गरेकै समयमा भएको छ । रुसले इरानबाट सयौं ड्रोन किन्न चाहन्छ । अमेरिकासँगको तनावको बीचमा उत्तर कोरिया यतिबेला रुससँगको सम्बन्धलाई मजबुत बनाउनमा व्यस्त छ ।

उत्तर कोरियाले रुसको नियन्त्रणमा रहेको युक्रेनको डोनबास क्षेत्रमा निर्माण कार्यका लागि आफ्ना कामदार पठाउन चाहेको संकेत गरेको छ । रुसका लागि उत्तर कोरियाका राजदूतले डोनबास क्षेत्रमा रुसी प्रतिनिधिसँग भेटवार्ता गरेका छन् । रुस र सिरियापछि युक्रेनको लुहान्स्क र डोनेट्स्कको स्वतन्त्रतालाई मान्यता दिने उत्तर कोरिया मात्रै देश हो । यस हिसाबले किम जोङ उनले पुटिनसँगको सम्बन्धलाई निरन्तर मजबुत बनाइरहेको पनि विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ८ : ३४ बजे